यसपालि निर्वाचन शान्तिपूर्ण रूपमा भए पनि २०४८ यताका निर्वाचनको तुलनामा कम खसेको छ
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मुलुकभर शान्तिपूर्ण रूपमा मतदान भएको छ । केही ठाउँमा छिटपुट विवाद भए पनि मतदानै रोकिने गरी कुनै घटना भएन ।
निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ५८.०७ प्रतिशत मतदाताले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये १ करोड ९ लाख ७७ हजार ७ सय ११ जनाले मतदान गरेका छन् । कोशी प्रदेशमा ५८.६२, मधेशमा ५८.३९, बागमतीमा ६०.९३, गण्डकीमा ५४.९२ प्रतिशत मत खसेको छ । यस्तै, लुम्बिनीमा ५९.९१, कर्णालीमा ५५.६६ र सुदूरपश्चिममा ५१.४० प्रतिशत मतदान भएको छ ।
सबैभन्दा कम मतदान अछाममा ३९.३९ प्रतिशत भएको छ । धनुषामा ४०.४१, डोटीमा ४०.८८ र खोटाङमा ४२.८५ प्रतिशतले मतदान गरेका छन् । सबैभन्दा बढी मतदान भक्तपुरमा ७१.४६ प्रतिशत भएको छ । बढी मतदान हुने अन्य जिल्लामा पर्सा (६८.४३ प्रतिशत), ललितपुर (६८.२२ प्रतिशत), नवलपरासी सुस्ता पश्चिम (६७.८० प्रतिशत), काठमाडौं (६७.०१ प्रतिशत) र डोल्पा (६६.१७ प्रतिशत) छन् । दार्चुला र दाङका २–२ र दोलखा र ओखलढुंगाका १–१ मतदान केन्द्रमा मतदाताले निर्वाचन बहिष्कार गरेका छन् ।
यसपालि निर्वाचन शान्तिपूर्ण रूपमा भए पनि २०४८ यताका निर्वाचनको तुलनामा कम खसेको छ । २०४८ मा ६५.१५ प्रतिशत, २०५१ मा ६१.८६ प्रतिशत, २०५६ मा ६५.७९ प्रतिशत मत खसेको थियो । २०६४ मा ६१.७ प्रतिशत, २०७० मा ७८.३४ प्रतिशत, २०७४ मा ६८.६७ प्रतिशत र २०७९ मा भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपालि कम मतदान हुनुको कुनै ठोस कारण नभएको बताए । ‘यस पटक अन्योलबीच निर्वाचन भयो । असहज परिस्थिति पनि भएकाले मतदानमा कमी आएको हुन सक्छ,’ उनले भने ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भने यसपालि स्वच्छ रूपमा मतदान भएकाले प्रतिशत कम देखिएको बताए । ‘पहिला बुथ क्याप्चर गरिन्थ्यो, मरेका तथा विदेशमा रहेका मान्छेका नाममा पनि भोट हालिन्थ्यो,’ उनले भने, ‘दोलखा र स्याङ्जाका कतिपय केन्द्रमा ९८–९९ प्रतिशतसम्म मत खस्थ्यो । अहिले हामीले अवाञ्छित गतिविधिलाई पूर्णतया रोक्यौं । स्याङ्जामा यस पटक ५२ प्रतिशत जति मत खसेको जानकारी छ । अहिलेको यथार्थ हो, पहिलेको होइन ।’
यस पटक कम मत खस्नुमा मुख्य रूपमा तीन कारण हुन सक्ने पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउँछन् । ‘निर्वाचनअघि निर्वाचन हुने वा नहुने अन्योल र सन्त्रास, विदेशमा रहेका नेपाली उल्लेख्य रूपमा सहभागी हुन नसक्नु र मतदानस्थलमा जान नागरिकको इच्छाशक्तिमा आएको कमीले मतदान घटेको हुन सक्छ,’ उनी भन्छन्, ‘अरू साना–साना कारणले पनि मतदान प्रभावित पारेको हुन सक्छ ।’
मतदाताको जति सहभागिता भयो, त्यसलाई उत्साहकै रूपमा लिनुपर्ने पूर्वप्रमुख आयुक्त पोखरेलको भनाइ छ । ‘निर्वाचन घोषणादेखि उम्मेदवारी दर्तासम्म आइपुग्दासमेत निर्वाचन तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्ने दोधार थियो,’ उनले भने । निर्वाचनबाट प्रजातन्त्र, बालिग मताधिकार र लोकतन्त्रको जित भएको जनाउँदै उनले अब संविधान ‘लिक’ मा आउने विश्वास पलाएको बताए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त एवं केही वर्षदेखि निर्वाचन पर्यवेक्षण गर्दै आएका सूर्यप्रसाद श्रेष्ठले कम मत प्रतिशत खस्नुमा विदेशमा रहेका नेपाली आउन नसक्नु, असुरक्षाको सन्त्रास र लोकतन्त्रका साथै निर्वाचन प्रणालीप्रति पनि विश्वासमा कमी कारण देखिएको बताए । ‘निर्वाचनको केही दिनअघिसम्म जनतामा सन्त्रासको वातावरण थियो । सुरुमा निर्वाचन नै हुँदैन भन्ने हल्ला भयो । दलहरू खुलेर बोलेनन् अनि संसद् पुनःस्थापनाका कुरा पनि हल्लाकै रूपमा आए । मतदाता कहिल्यै पनि निर्वाचनप्रति ढुक्क भएनन्,’ उनले भने, ‘लोकतन्त्रप्रति विश्वास कमजोर भएको अवस्थामा निर्वाचन भएको थियो । निर्वाचन प्रणालीप्रति धेरै विश्वास र उत्साह बढेको पाइएन ।’
जेन–जी आन्दोलनको जगमा गठन भएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले यसपालि निर्वाचन गराएको हो । जेन–जी आन्दोलनको दबाबमा परेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने ‘म्यान्डेट’ सहित गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । नियुक्ति भएकै दिन उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका थिए ।
प्रतिनिधिसभामा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिकबाट ११० सांसद चुन्न बिहीबार मतदान गराइएको छ । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका थिए । अस्थायी मतदानस्थल पनि १ सय ४३ वटा थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन चुनौती भए पनि आफूहरूले जिम्मेवारीअनुरूप काम गरेर सफल बनाएको बताइन् । ‘हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन, बाधा–अवरोध नआएको होइन । तर हामी विचलित भएनौं । निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो,’ उनले भनिन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन र प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको बताए । निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हक अधिकार संस्थागत गर्नमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उनले प्रतिक्रिया दिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बिहीबार देशभर उत्साहपूर्वक मतदान भएको प्रतिक्रिया दिँदै यसमा भूमिका निर्वाह गर्ने सरकार, राजनीतिक दललगायत सरोकारवाला सबै पक्षलाई धन्यवाद दिएका छन् । ‘देशभर मतदाताले उत्साह देखाउनुभयो । तर केही केन्द्रमा मतदाताले अस्वीकार गरेको पाइयो तर त्यो निर्वाचन आयोगसँग सम्बन्धित छैन,’ उनले भने, ‘यो दलहरूको वाचाप्रतिको असन्तुष्टि हो ।’
भण्डारीले निर्वाचन अभियान २७ भदौमा सुरु भएर भन्ज्याङमा आइपुगेको बताए । निर्वाचन आयोग सुरुकै दिनदेखि निर्वाचन सम्भव छ र सम्पन्न हुन्छ भन्नेमा दृढ रहँदै काममा खटिएको र आज नतिजा देखिएको उनको भनाइ छ । ‘यो निर्वाचन आयोगले मात्र गरेर सम्भव भएको होइन । यसमा सबैको उत्तिकै सहयोग छ । सरकारले सुरुदेखि नै आर्थिक र अन्य कुरामा कुनै कमी गराएन,’ उनले भने, ‘राजनीतिक दल, सार्वजनिक सञ्चारमाध्यम अनि मतदाताको अतुलनीय सहयोग रह्यो ।’
भण्डारीले निर्वाचनमा जेन–जीको उल्लेख्य उपस्थिति रहेको पनि दाबी गरे । यस पटक करिब १० लाख नयाँ मतदाता थिए । तीमध्ये अधिकांश युवा रहेको उनको भनाइ छ । ‘हार–जित अलग कुरा हो तर निर्वाचनमा भाग लिएर लोकतन्त्रको पक्षमा सबै उभिएका छन्,’ उनले भने, ‘निर्वाचन भनेको जनताको अभिमत हो ।’
