नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न गरेकामा नेपाली जनतालाई बधाई दिँदै दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको जनाएको छ
काठमाडौँ — काठमाडौं (कास)– भदौको जेन–जी विद्रोहपछिको म्यान्डेटअनुसार बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेकामा भारत र अमेरिकाले नेपाललाई बधाई दिएका छन् ।
नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न गरेकामा नेपाली जनतालाई बधाई दिँदै दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको जनाएको छ ।
‘निर्वाचन सम्पन्न भएकामा नेपाली जनतालाई हार्दिक बधाई ।
आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौं,’ नेपालस्थित अमेरिकी दूतावासको फेसबुक एकाउन्टमा लेखिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको निर्वाचनमा उत्साहपूर्ण सहभागिता रहेको बताएका छन् । उनले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री सुशीला कार्कीसहित सरोकारवाला निकायलाई बधाई दिएका छन् ।
निर्वाचन पर्यवेक्षणमा सहभागी ‘द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स’ (एएनएफआरईएल) ले शान्तिपूर्ण र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न भएको जनाएको छ । अधिकांश स्थानमा मतदान निकै प्रभावकारी पाइएको ‘एनएफआरईएल’ ले जनाएको छ । उसले धेरै मतदान केन्द्रमा अपांगमैत्री पूर्वाधारको अभाव र ज्येष्ठ नागरिकका लागि आवश्यक पहुँचको अभाव देखिएको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा केही कमजोरी देखिएको निष्कर्ष निकालेको छ ।
यसैबीच अन्तर्राष्ट्रिय मिडियाहरूले निर्वाचनलाई निकै चासो र प्राथमिकताका साथ स्थान दिएको देखिन्छ । एसोसिएट प्रेस (एपी) ले नेपालमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनपछिको सरकारलाई जेन–जी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, भ्रष्टाचारसँग जुध्नुपर्ने तथा दुई शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने चुनौती हुने विश्लेषण गरेको छ ।
बीबीसीले भ्रष्टाचार, आर्थिक कठिनाइ र असमानता यस चुनावको मुख्य मुद्दा बनेको जनाएको छ । गार्डियनले ‘पुरानाविरुद्ध शक्तिशाली युवा अभियानको लडाइँमा नेपालीहरूले मत खसाल्दै’ शीर्षकमा समाचार छ । रोयटर्सले ‘युवा नेतृत्वको प्रदर्शनपछि मतदाताले परिवर्तन खोज्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
ब्लुम्वर्गले पनि ‘नेपालका युवा र्यापर बालेन शाह पुराना नेतासँग लडाइँमा’ शीर्षकमा समाचार छापेको छ । जर्मन सञ्चारमाध्यम डिडब्ल्युले ‘साँचो राजनीतिक सुधारको आसमा जेन–जी’ शीर्षकमा समाचार छापेको छ । तर यस निर्वाचनमा जेन–जी पुस्ताका उम्मेदवारको संख्या निकै कम रहेको उल्लेख गरेको छ । ‘यस उमेर समूहका झन्डै ५ प्रतिशतमात्रै उम्मेदवार निर्वाचनमा छन्,’ समाचारमा छ, ‘विज्ञहरूले संरचनागत अवरोध, वरिष्ठलाई फाइदा पुग्ने राजनीतिक संस्कार र युवालाई नेतृत्व दिन अनुभवविहीन देख्ने दृष्टिकोणले यस्तो अवस्था सिर्जना गरेको औंल्याएका छन् ।’
