बालेन्द्रका प्रमुख सहयोगी कुमार बेनले कान्तिपुरसँग निर्वाचन आयोगसँग बुधबार अनुमति लिएको पत्र देखाउँदै अनुमति लिएरै हेलिकोप्टर चढेको र फर्किनुको कारण सुरक्षा जोखिम भएको बताए।
काठमाडौँ — बिहीबार काठमाडौंमा मतदान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह आफ्नो निर्वाचन क्षेत्र जान हेलिकोप्टर चढेका थिए। तर उनी झापामा अवतरण नगरी बीचबाटै फर्किएपछि किन फर्किए भन्ने प्रश्न उठेको थियो।
बालेन्द्रका प्रमुख सहयोगी कुमार बेनले कान्तिपुरसँग निर्वाचन आयोगसँग बुधबार अनुमति लिएको पत्र देखाउँदै अनुमति लिएरै हेलिकोप्टर चढेको र फर्किनुको कारण सुरक्षा जोखिम भएको बताए ।
यसअघि ईकान्तिपुरले प्रकाशित गरेको समाचारमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको भनाइलाई आधार मानेर हेलिकोप्टर प्रयोगका लागि अनुमति नलिएको भन्दै समाचार लेखिएको थियो। भण्डारीले ११ बजेर ४० मिनेटमा कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै 'अनुमति नलिएको' बताएका थिए।
यही विषयमा पछि भण्डारीसँग बुझ्दा उनले भने, 'मलाई थाहा थिएन । लिएको रै'छ ।'
बिहीबार बिहान करिब ९ बजेर ११ मिनेटमा काठमाडौंबाट उडेको हेली एभरेस्टको 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो।
*कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको भनाइलाई आधार मानेर उक्त समाचार प्रकाशित गरिएको थियो। तर अनुमति लिएको खुलेपछि हामीले समाचार सच्याएका छौँ। – सम्पादक
