हेलिकोप्टर फिर्ता भएको विषय सुरक्षासँग सम्बन्धित छैन : रमा आचार्य, सहप्रवक्ता, गृह मन्त्रालय
काठमाडौँ — काठमाडौंमा मतदान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह हेलिकोप्टरमार्फत झापा उडेका थिए। तर उनको हेलिकोप्टर अवतरण नगरी बीचबाटै फर्कियो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले ११ बजेर ४० मिनेटमा कान्तिपुरसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूसँग हेलिकोप्टर प्रयोगका लागि अनुमति नलिएको बताएका थिए। उनकै भनाइलाई आधार मानेर हामीले ‘अनुमति नलिई हेलिकोप्टर लिएर झापा उडेका बालेन ल्यान्ड नगरी काठमाडौं फर्किए’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ ।जसलाई हामीले सच्याएका छौं ।
तर बालेन्द्रका प्रमुख सहयोगी कुमार बेनले कान्तिपुरसँग आयोगसँग बुधबार अनुमति लिएको पत्र देखाउँदै अनुमति नलिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए। उनले भने, ‘सुरक्षाको कारण देखाउँदै नआउन भनेपछि त्यसलाई स्वीकार गर्दै हाम्रो टोली फर्किएको हो। अनुमति नलिएको भन्ने कुरा होइन।’
बिहीबार बिहान करिब ९ बजेर ११ मिनेटमा काठमाडौंबाट उडेको हेली एभरेस्टको 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो। अनुमति नभएका कारण निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको भन्ने प्रारम्भिक सूचना आएको थियो।
बेनले आफूहरूले आयोगबाट २० गते नै अनुमति लिएको पत्र कान्तिपुरसँग सेयर गरे। उक्त पत्रमा लेखिएको छ, ‘बालेन्द्र शाहलाई मिति २०८२ फागुन २१ गते काठमाडौं–झापा रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको बेहोरा अनुरोध गर्दै सो रुटमा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेका बखत उपलब्ध गराउने गरी राख्ने व्यवस्था गर्नसमेत निर्णयानुसार अनुरोध छ।’
पत्रका विषयमा बुझ्न हामीले आयुक्त सगुनशम्सेर जबरासँग पनि सोध्यौँ। उनले भने, ‘आयोगबाट अनुमति दिइएको हो। किन उडाउनुभयो वा किन फर्किनुभयो भन्नेबारे थाहा भएन।’
सुरक्षाको कारण देखाउँदै हेलिकोप्टर फिर्ता भएको हो भन्ने बालेन्द्रका सहयोगीको दाबीबारे हामीले गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी, झापा प्रहरी प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग सम्बद्ध स्रोतसँग बुझ्यौँ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले हेलिकोप्टर फिर्ता भएको विषय सुरक्षासँग सम्बन्धित नरहेको बताइन्। उनले भनिन्, ‘सुरक्षाको कारण उहाँ फर्किनुभएको होइन। अरू नै कारण होला। प्राविधिक विषय विमानस्थलमा बुझ्नुहोला।’
सुरक्षा चुनौतीको विषयमा बुझ्न हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेसँग पनि सोध्यौँ। उनले बालेन्द्र चढेको हेलिकोप्टर फर्किएको विषयमा सुरक्षा चुनौती भएको भन्ने जानकारी आफूलाई नभएको बताए। उनले भने, ‘नेपालको कुनै पनि ठाउँमा कसैलाई जान सुरक्षा चुनौती छैन। झन् उहाँजस्तो हेबीवेट उम्मेदवारलाई राज्यको धेरै सुरक्षा हुन्छ। त्यस्तोमा सुरक्षा प्रबन्ध हुन नसकेको भन्ने कुरा हुँदैन।’
झापाका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले झापाको सुरक्षा स्थिति सामान्य रहेको बताउँदै भनिन्, ‘सबै मतदान केन्द्रमा मतदान जारी छ। हेलिकोप्टर ल्यान्ड गर्न नसकेको विषयमा केही जानकारी छैन।’
बालेन्द्रको हेलिकोप्टर ल्यान्ड नहुनुका पछाडि सुरक्षा कारण जिम्मेवार हो कि भनेर हामीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई पनि सोध्यौँ। उनले भने, ‘उहाँको हेलिकोप्टर ल्यान्ड नभएको सत्य हो। तर के कारणले ल्यान्ड हुन सकेन भन्नेबारे हामीलाई थाहा छैन।’
नेपाली नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतले हेलिकोप्टर अवतरण नगरेको विषय मौसमसँग सम्बन्धित नरहेको बताए। उनले भने, ‘जसले हेलिकोप्टर चार्टर गर्नुभएको हो, उहाँहरूको पनि केही कारण होला। त्यसपछि विमानस्थलको अपरेसनबाटै हेलिकोप्टर फिर्ता हुन निर्देशन दिइएको हो।’
सुरक्षा निकाय स्रोतहरूसँग कुराकानी गरेपछि हामीले बालेन्द्रका सहयोगी कुमार बेनलाई फेरि सोध्यौँ- तपाईंहरूले सुरक्षा थ्रेट भएपछि फर्किएको बताउनुभएको थियो । के यसबारे सुरक्षा निकायलाई जानकारी गराउनुभएको छ ?
बेनले आफूहरूले जानकारी नगराएको तर झापा प्रहरी र प्रधानमन्त्री कार्यालय दुवै ठाउँबाट सुरक्षा थ्रेटबारे सन्देश आएको दाबी गरे। हामीले गृह मन्त्रालय तथा जिल्लास्थित सुरक्षा स्रोतहरूसँग बुझ्दा सुरक्षा थ्रेटबारे जानकारी नरहेको बताएको कुरा उनलाई सुनायौं । उनले भने, ‘तर्क त गर्न पाइयो। हामीलाई आएको त्यो म्यासेज देखाउन मिलेन।’
बीच बाटोबाट हेलिकोप्टर किन फर्कियो भन्नेबारे कान्तिपुरका उड्डयन संवाददाता सुरज कुँवरले उड्डयन क्षेत्रसँग सम्बद्ध स्रोतहरूसँग पनि कुराकानी गरेका छन्। उडानसम्बन्धी स्रोतका अनुसार बालेन्द्रसहित पाँचजना सवार हेली एभरेस्टको बी–थ्रीई हेलिकोप्टर काठमाडौंबाट उडेर ५७ नटिकल माइल (करिब १ सय ५ किलोमिटर) पुगेको थियो।
हेलिकोप्टरमा बालेन्द्रसहित कुमार बेन, राम भण्डारी, विवेक मिश्र र सुशील कडरिया थिए ।
हेलिकोप्टरको अगाडिको सिटमा पाइलट कमल बुढासँगै बालेन्द्र बसेका थिए। बालेन्द्रले क्याप्टेन बुढालाई काठमाडौं फर्किन भनेपछि हेली एभरेस्टका प्रमुख पाइलटसमेत रहेका बुढाले उदयपुरको आकाशबाटै भद्रपुर चार्टर उडानलाई निरन्तरता नदिई हेलिकोप्टर काठमाडौं फर्काएका थिए। बिहान ९ बजेर ११ मिनेटमा काठमाडौंबाट उडेको हेलिकोप्टर १० बजेर ९ मिनेटमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण भएको थियो।
बालेन्द्रले पाइलटलाई हेलिकोप्टर डाइभर्ट गराउनुअघि पाँच जना यात्रुले एक–अर्कालाई मोबाइल देखाउँदै छलफल गरेको हेली एभरेस्ट स्रोतले जनाएको छ। ‘पाइलटलाई फर्काउन भनिएपछि पाइलटले कारण नसोधी हेलिकोप्टर फर्काएका थिए। उनले “Due to political reason diverting to Kathmandu” भनेर काठमाडौं विमानस्थल टावरलाई जानकारी दिएका थिए,’ विमानस्थलको उच्च स्रोतले कान्तिपुरसँग भन्यो।
हेली एभरेस्टले यो चार्टर उडान प्राविधिक कारणले नभई हेलिकोप्टर चार्टर गर्ने समूहको अनुरोधमा डाइभर्ट गरिएको जानकारी विमानस्थललाई गराएको छ। विमानस्थल कार्यालयले काठमाडौं विमानस्थलमा रहेका हेली एभरेस्टका कर्मचारीसँग सोधपुछ गर्दा उडिरहेको हेलिकोप्टरमा रहेका यात्रुमध्ये कसैको मोबाइलमा बाहिरबाट थ्रेटको सन्देश आएको दाबी गरिएको बताइएको छ।
विमानस्थल स्रोतका अनुसार उक्त हेलिकोप्टरले उडान अनुमति लिने सबै प्रक्रिया पूरा गरेर भद्रपुर उड्न अनुमति पाएको थियो। हेली एभरेस्टले आफ्ना चारवटा हेलिकोप्टर उडानका लागि प्राधिकरणबाट बिहीबार अनुमति पाएको थियो।
