कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, 'उडानका लागि अनुमति लिएको हेलिकोप्टर अवतरण गर्न नदिने भन्ने नै हुँदैन । अवतरण गर्न नदिने भए अनुमति किन दिन्थ्यौं ?'
काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चढेको हेलिकोप्टर झापा नआएको चन्द्रगढी एयरपोर्टका प्रमुख किशोरकुमार खत्रीले बताएका छन् । काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत शाह झापा गएको अवतरण गर्न नपाएको बताइएको थियो ।
चन्द्रगढी एयरपोर्टस्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख खत्रीले भने, 'बालेन्द्र शाह चढेको हेलिकोप्टर आएकै छैन । उहाँ आएर अवतरण नगरेको भन्ने हल्ला हो । आएपछि अवतरणको अनुमति नदिने भन्ने कुरै हुँदैन ।'
निर्वाचन आयोगले पनि हेलिकोप्टर उडाउनका लागि अनुमति लिएपछि अवतरणको अनुमति नदिने भन्ने कुरै नहुने बताएकी छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, 'उडानका लागि अनुमति लिएको हेलिकोप्टर अवतरण गर्न नदिने भन्ने नै हुँदैन । अवतरण गर्न नदिने भए अनुमति किन दिन्थ्यौं ?'
झापा ५ बाट रास्वपाका उम्मेदवार शाह बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट हेली एभरेस्टको 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको बताइएको थियो । तर, निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको शाह निकट स्रोतको दाबी थियो ।
