अधिकृतदेखि सबै कर्मचारी महिला मात्रै रहेको रोल्पाको मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ ।
रोल्पा — अधिकृतदेखि सबै कर्मचारी महिला मात्रै रहेको रोल्पा लिबाङस्थित पिताराज माविमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ ।
मतदान अधिकृत रेखा श्रेष्ठले महिलालाई मात्रै खटाइएकामा उत्साहजनक रुपमा काम गरिरहेको बताइन् । सुरुमा महिलालाई मात्रै खटाएको भए पनि काम गर्न मुस्किल हुने आशंका भएकामा राम्रोसँग काम गरिएको उनले बताइन् ।
'सबै टोली महिला भएकामा कतिपय पुरुषले काम गर्न सक्दैनन् भनेको सुन्नमा आएको थियो। तर आत्मबलका साथ काम गर्यौं,' उनले भनिन् ।
केन्द्रमा खटाइएका अन्य ५ जना कर्मचारी पनि महिला नै छन् । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले महिला महिलाको टिमले सक्षम देखिएको बताए । यस केन्द्रमा ८३६ मतदाता छन् ।
