सोलुखुम्बुमा तनाव भएको भन्दै पुरानो भिडियो भाइरल

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, अहिले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो पुरानो हो ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Old video goes viral, claiming tension in Solukhumbu

काठमाडौँ — सोलुखुम्बुको मतदान केन्द्रमा तनाव भएको भन्दै पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल फेसबुकमा भीमराज बुढाथोकी नामक प्रयोगकर्तासहित कतिपयले सोलुखुम्बुमा लफडा भएछ भन्दै यो भिडियो राखेका छन् । 

भिडियोमा सेनाले बन्दुक तेर्स्याउँदै गरेको समेत देखिन्छ । तर, सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, अहिले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो पुरानो हो । 'मैले पनि त्यो भिडियो हेरेँ, पुरानो अभ्यासका बेलाको भिडियो सामाजिक सञ्जालमा हालिएको रहेछ,' उनले भने, 'अहिले सोलुखुम्बुमा त्यस्तो कुनै समस्या भएको छैन ।' 

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि सोलुखुम्बुमा शान्तिपूर्वक रूपमा निर्वाचन भइरहेको बताए । 'अहिलेसम्म प्रदेशमा कुनै समस्या छैन,' उनले भने ।

कोशी प्रदेशभर १ हजार ९ सय ७ मतदान स्थलमध्ये ४ सय ३९ मतदान स्थल अति संवेदनशील सूचीमा छन् । ती मतदान स्थलअन्तर्गत ४ हजार २ सय ७० मतदान केन्द्र छन् । विगतका घटनाको समीक्षा, अन्तर्राष्ट्रिय सीमा नजिकको अवस्था, मतदाता संख्या, राजनीतिक गतिविधिको तीव्रता, भौगोलिक दुर्गमता तथा सम्भावित जोखिमको विश्लेषणका आधारमा सुरक्षा वर्गीकरण गरिएको डीआईजी घिमिरेको भनाइ छ ।

कान्तिपुर

Link copied successfully