तीन जना यौनिक अल्पसंख्यकसहित २ लाख ५२ हजार १५६ मतदाताले मतदान गरेका छन् ।
कपिलवस्तु — बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तुमा पुरुषभन्दा महिलाले बढी मतदान गरेका छन् ।
जिल्लामा ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ । एक लाख ३० हजार ४६३ महिला र एक लाख २१ हजार ६९० पुरुष मतदाताले मतदान गरेको प्रमुख जिल्ला अधिकारी नवराज गौतमले बताए । यस्तै, तीन जना यौनिक अल्पसंख्यकसहित कुल २ लाख ५२ हजार १५६ मतदाताले मतदान गरेका छन् ।
जिल्लाको संवेदनशील र अति संवेदनशील ५४ मतदान केन्द्रलगायत सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । चुस्तदुरुस्त सुरक्षा व्यवस्था गरिएकाले कहीँकतै असहज अवस्था नहुँदा सामान्य अवस्थामा मतदान भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले बताए ।
जिल्लाको २ सय ३६ मतदानस्थलका ४ सय ९१ मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो । जिल्लाको तीन निर्वाचन क्षेत्रमा दलका ४९ र स्वतन्त्र ४९ गरी ९८ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा चार यौनिक अल्पसंख्यक सहित ३ लाख ९६ हजार २६५ मतदाता रहेका थिए ।
०७९ मसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा ६५ प्रतिशतले मतदान गरेका थिए ।
