उपत्यकाका मतदानस्थलमा गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट अनुगमन

छिटफुट घटनाबाहेक देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य गृहमन्त्री अर्यालको भनाइ छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal, along with high-ranking officials, monitor polling stations in the Kathmandu Valley

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृहमन्त्रालयका उच्च अधिकारीसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।

मन्त्री अर्यालले प्रतनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुखसहित काठमाडौँ र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् । उनले मतदातासँग दोहोरो कुराकानी समेत गरेका थिए ।

हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रसंशा गर्दै बधाई दिएका थिए । केही मतदाताले अँगालो मारेर खुसी आदानप्रदान गरे ।

ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौँको तारकेश्वरको नागर्जुन मावि र पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरे ।

अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथि प्रदीपजंघ केसी, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए ।

अनुगमनकै क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरे । मतदानस्थल अनुगमनकाक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा उत्साहजनक रुपमा मतदान भइरहेको बताए । छिटफुट घटनाबाहेक देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उनले बताए ।

अनुगमनपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ब्रिफिङसमेत गरे । निर्वाचन सुरक्षाको सन्दर्भमा मन्त्री अर्यालले गृह मन्त्रालयको कन्ट्रोलमा बसी सबै निर्वाचन क्षेत्रहरुको मनिटरिङ गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully