बेदिङकाे समस्या सुनुवाइ गर्न कुनै उमेदवार नआएकाे भन्दै स्थानीयले मत खसाल्न नगएकाे बताएका छन् ।
दोलखा — बेदिङका मतदाताले मतदान बहिष्कार गरेपछि हेलिकप्टरबाट रित्तो मतपेटिका लिएर मतदान टोली फर्किएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका स्थानीय मतदाताले यसपटक निर्वाचन बहिष्कार गरेका हुन् । हिमाल आराेहीकाे गाउँले परिचित राेल्वालिङ उपत्यकाकाे पर्यटकीय गाउँ बेदिङका मतदाताले मतदान बहिस्कार गरेको बताएका छन् ।
बेदिङमा मतदानमा खटिएका ५ जना कर्मचारीले हालेको ५ समानुपातिक मत भएको मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ ।
बेदिङकाे समस्या सुनुवाइ गर्न कुनै उमेदवार नआएकाे भन्दै स्थानीयले मत खसाल्न नगएकाे बताएका छन् । बेदिङमा १ सय १३ जना मतदाता छन् । कोही पनि मतदाताले मतदान गरेनन् ।
मतदान अधिकृतसहितका कर्मचारी साँझ ५ बजेसम्म मतदातालाई कुरेर बसेका थिए । मतदाताले निर्वाचन बहिष्कार गरेसँगै सो बुथमा प्रत्यक्षतर्फ मत नखसेकाे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
निर्वाचनका लागि खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका छन् । सोही मत बोकेर निर्वाचन कर्मचारीको टोली त्यहाँबाट फर्किएको हो ।प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार उक्त केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याईसकिएको छ ।
