ठूला अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’

निर्वाचनका कारण लामो सार्वजनिक बिदा रहेकाले आकस्मिक उपचार सेवा व्यवस्थापनका लागि टिम गठन गरिएको अस्पतालहरूले जनाएका छन् ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Election-targeted 'Rapid Response Team' in major hospitals

काठमाडौँ —  

बिहीबारको निर्वाचनलाई लक्ष्य गरी वीर अस्पतालसहित देशभरका ठूला अस्पतालले ‘र्‍यापिड रेस्पोन्स टिम’ (द्रुत प्रतिकार्य टोली) गठन गरेका छन् । निर्वाचनका कारण लामो सार्वजनिक बिदा रहेकाले आकस्मिक उपचार सेवा व्यवस्थापनका लागि टिम गठन गरिएको अस्पतालहरूले जनाएका छन् । 

निर्वाचन आयोगले मतदान केन्द्रमा नै आकस्मिक स्वास्थ्य उपचारको प्रबन्ध गर्न सरकारलाई यसअघि नै निर्देशन दिएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले निर्वाचनको समयमा पनि आपत्कालीन स्वास्थ्य सेवाको व्यवस्था गर्न अस्पताल र स्वास्थ्य संस्थालाई परिपत्र गरेको थियो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरेर अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह गरेका थिए । आयोगले संघीय मामिला मन्त्रालयमार्फत मतदान केन्द्रमा नै आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन ७ सय ५३ वटै स्थानीय तहमा परिपत्र गरेको छ । मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई पर्न सक्ने आकस्मिक स्वास्थ्य समस्या समाधानका लागि प्रत्येक मतदानस्थलमा प्राथमिक स्वास्थ्य सेवा सुनिश्चित गर्न भनेको हो ।

आयोगले देशभरका अस्पताल, स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी र औषधिको तयारी गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । अत्यावश्यक र आपत्कालीन उपचार सेवा उपलब्ध गराउन परिपत्र गरिएको थियो । निर्वाचनको दिन सबैजसो अस्पतालका ओपीडी सेवा बन्द रहे पनि आकस्मिक उपचार सेवा भने सञ्चालनमा रहनेछन् । 

वीर अस्पतालमा आपत्कालीन अवस्थाका लागि इमर्जेन्सी विभाग प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा टिम बनाइएको छ । टिममा चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मी छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आपत्कालीन उपचार सेवालाई प्रभावकारी बनाउन टिम गठन गरिएको निर्देशक जनार्दन पन्थीले जानकारी दिए । आवश्यक औषधि, उपकरण चुस्तदुरुस्त राख्न, इमर्जेन्सीबाट आपत्कालीन साइरन कल वा मोबाइलमा म्यासेज आए तत्कालै चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले सेवा दिने उनले जानकारी दिए ।

निजामती कर्मचारी अस्पतालले मेडिकल डिभिजन प्रमुखको संयोजकत्वमा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरी सेवालाई निरन्तरता दिने जनाएको छ । भरतपुर अस्पतालले निर्वाचनका बेला हुने सार्वजनिक बिदामा ओपीडी बन्द भए पनि इमर्जेन्सी र अन्तरंग सेवा पूर्ववत् सञ्चालनमा रहने जनाएको छ । २३ फागुनबाट अस्पतालमा ओपीडी र प्रशासनिक सेवा सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।

सरकारले निर्वाचनका कारण २०–२२ फागुनमा सार्वजनिक बिदा दिएको छ । त्रिवि शिक्षण अस्पतालले यो बेला इमर्जेन्सी र अन्तरंग सेवाबाहेक अस्पतालका दिवा सेवा बन्द हुने जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्यका अनुसार २०, २२ र २४ फागुनमा बिहानी सत्र मात्र सञ्चालन हुनेछन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले इमर्जेन्सी विभागका प्रमुख डा. नुरुल होदाको संयोजकत्वमा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ । अस्पतालले निर्वाचनको दिन सर्जरी, मेडिसिन, अर्थोपेडिक, डेन्टल, रेडियोलोजी र प्रयोगशाला विभागमा नियमित ड्युटीबाहेक कम्तीमा एक मुख्य चिकित्सक र दुई अन्य चिकित्सक खटाउने भनेको छ ।

कान्तिपुर

Link copied successfully