यात्रु बुकिङ न्यून रहेकाले काठमाडौंबाट हुने अधिकांश नियमित आन्तरिक उडान रद्द गरिने भएको छ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि निजी क्षेत्रका सबै ९ हेलिकोप्टर कम्पनीले आफ्ना हेलिकोप्टर तयारीमा राख्ने भएका छन्।
वायुसेवा सञ्चालक संघ नेपालका अनुसार निर्वाचनसम्बन्धी उडान, चार्टर सेवा तथा उद्धारजस्ता अत्यावश्यक कार्यका लागि हेलिकोप्टर तयारी अवस्थामा रहनेछन् । संघका अध्यक्ष प्रतापजंग पाण्डेले निर्वाचनका दिन संघमा आबद्ध निजी हेलिकोप्टरहरूले आवश्यकताअनुसार सेवा प्रदान गर्ने जानकारी दिए ।
यसैबीच, नियमित आन्तरिक उडानतर्फ भने न्यून गतिविधि रहने देखिएको छ। बुद्ध एयरले बिहीबारका लागि विराटनगरमा एउटा उडान गर्ने जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयलाई गराएको छ।
कार्यालयका एक अधिकारीका अनुसार अन्य वायुसेवा कम्पनीहरूले भने बिहीबार बिहानसम्म कुनै नियमित उडान नराख्ने बताएका छन्। यात्रु बुकिङ न्यून रहेकाले काठमाडौंबाट हुने अधिकांश नियमित आन्तरिक उडान रद्द गरिने जनाइएको छ। दुर्गम तथा हिमाली क्षेत्रमा उडान गर्ने सिता एयर, तारा एयर र समिट एयरले पनि निर्वाचनका दिन उडान नहुने जानकारी दिएका छन्।
सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगम ले भने आफ्नो एउटा ट्विनअटर विमान 'स्ट्यान्डबाई'मा राख्ने जनाएको छ।
सामान्य अवस्थामा काठमाडौं विमानस्थलबाट दैनिक करिब ३ सय हाराहारी आन्तरिक उडान सञ्चालन हुने गरेका छन्। हाल आन्तरिक उडानतर्फ ८ वटा वायुसेवा कम्पनी दर्ता छन्।हेलिकोप्टरतर्फ ११ वटा कम्पनी उडानमा छन् ।
