उपत्यकाबाट २० दिनमा बाहिरिए ८ लाख ८४ हजार यात्रु

बुधबार राति १२ बजेबाट सवारीसाधन चलाउन नमिल्ने भएपछि आज मध्यम दुरीका सवारी मात्र बाहिरिएका छन् ।

फाल्गुन २०, २०८२

विमल खतिवडा

884,000 passengers left the Kathmandu Valley in 20 days

काठमाडौँ — काठमाडौं उपत्यकाबाट २० दिनमा ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएका छन् । होली र निर्वाचनले गर्दा पछिल्लो समय उपत्यका छाड्ने यात्रुको संख्या बढेको हो । जसले गर्दा अहिले उपत्यकाका सडक प्राय: सुनसान छन् ।

अहिले उपत्यकाका सडकमा सार्वजनिक र निजी सवारीसाधन कम गुडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले बताए । ‘निर्वाचनले गर्दा धेरै यात्रु बाहिरिएका छन्,’ उनले भने, ‘जसले गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा केही दिनयता समस्या छैन, गुड्ने सवारी साधनको संख्या धेरै कम छ ।’ अधिकांश ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सीमित जनशक्तिबाट ट्राफिक व्यवस्थापनको काम भइरहेको छ ।  

डीएसपी शाहका अनुसार उपत्यकाबाट बाहिरिने सवारीलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती, ललितपुरको फर्पिङ र चापागाउँ नाकामा जाँच गरेर यात्रुलाई यात्राबारे सचेत गराएर मात्र पठाउने गरिएको छ । ‘विशेषत: मोटरसाइकलमा जाने यात्रुलाई तीव्र गतिका कारण हुने दुर्घटनाबारे सचेत गराउने गरिएको छ,’ उनले भने, ‘मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउनुस्, तीव्र गतिमा नगुडाउनुस् भनेर सम्झाइरहेका छौं ।’

ट्राफिक प्रहरीका अनुसार बुधबार उपत्यकाबाट बाहिरिने यात्रु र सवारीसाधनको संख्या पातलिएको छ । बिहीबार हुने निर्वाचनले गर्दा बुधबार राति १२ बजेबाट सवारीसाधन चलाउन नमिल्ने भएपछि मध्यम दुरीका सवारी मात्र उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

१७ गते आइतबार सबैभन्दा धेरै यात्रु लिएर सवारीसाधन बाहिरिएको नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्लले बताए । ‘आइतबार मात्र ४ सय ८० यात्रुवाहक गाडी बसपार्कबाट बाहिरिएका थिए, अघिपछि सामान्य अवस्थामा दैनिक ३ सयदेखि साढे ३ सय मात्र गाडी बाहिरिने गर्छन्,’ उनले भने, ‘बुधबार बिहान केही सवारीसाधन बाहिरिएका छन्, राति १२ बजेबाट सवारी चलाउन नमिल्ने भएकाले बुधबार मध्याह्नबाट बसपार्कको काउन्टर निर्वाचन अवधिभरका लागि बन्द गरेका छौं, बसपार्क अहिले सुनसान छ ।’ शुक्रबारयता बसपार्कबाट डेढ लाख यात्रुले टिकट काटेको उनको भनाइ छ ।

‘विभिन्न जिल्ला जाने यात्रुको भिड दसैंमा जस्तै थियो, यो पटक धेरै सार्वजनिक बिदा पनि पर्‍यो,’ उनले भने, ‘बाहिरिने यात्रु अधिकांश मतदान गर्न जानेहरु नै थिए ।’ उनका अनुसार मंगलबार बसपार्कबाट ३ सय वटा यात्रुवाहक सवारीसाधन बाहिरिएका छन् । बुधबार बिहान पोखरा, बुटवल र भैरहवाका लागि १५ वटा यात्रुबस छुटेको उनले बताए ।

पछिल्लो ११ दिनमा बाहिरिने गाडी र यात्रुको संख्या884,000 passengers left the Kathmandu Valley in 20 days

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully