युद्धले खाडीका १९ लाख नेपाली श्रमिक त्रासमा

इरानले साउदी, कतार, कुवेत, यूएई, बहराइन, ओमान र इराकमा रहेका अमेरिकी बेसक्याम्पलाई मात्र मिसाइल र ड्रोनको निसाना बनाइरहेको छैन, उसले विमानस्थल, आवासीय भवन, होटल, बन्दरगाहदेखि तेलखानीसम्म हमला गरिरहेको छ

फाल्गुन १९, २०८२

होम कार्की

War threatens 1.9 million Nepali workers in Gulf

काठमाडौँ — अमेरिका–इजरायल र इरानबीच शनिबारदेखि जारी युद्धले पश्चिम एसियाका खाडी मुलुकमा त्रास बढाउँदै लगेको छ । युद्ध अमेरिका–इजरायल र इरानबीच मात्र सीमित छैन । जुन–जुन देशमा अमेरिकी सैन्य क्याम्प छन्, ती सबै ठाउँमा इरानले जवाफी हमला जारी राखेको छ । तर इरानले साउदी, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, ओमान र इराकमा रहेका अमेरिकी बेसक्याम्पलाई मात्र मिसाइल र ड्रोनको निसाना बनाइरहेको छैन । उसले विमानस्थल, आवासीय भवन, होटल, बन्दरगाहदेखि तेलखानीसम्म आक्रमण गर्न थालेको छ । 

युद्ध बढ्दै जाँदा खाडी क्षेत्रमा मात्र कार्यरत १९ लाख नेपाली युद्धको प्रत्यक्ष जोखिममा परेका छन् । शनिबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा सर्लाहीका रञ्जितकुमार यादव विमानस्थल परिसरमै थिए । ‘इरानले ट्रमिनल वानमा ड्रोन आक्रमण गरेको थियो, हामी दुई मिनेटको दूरीमा थियौं, ड्युटी सकेर फर्कने तयारीमा थियौं,’ यादवले कान्तिपुरसँग फोनमा भने, ‘एकछिन भागाभाग भयो, केही घाइते भए ।’ 

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार विमानस्थलमा ३२ आप्रवासी श्रमिक घाइते भए । यो हमलापछि यादवको ‘ड्युटी’ लागेको छैन । घटनास्थलमा यादवसहित करिब ३५ जना नेपाली थिए । ‘फेरि पनि ड्रोन/मिसाइल झर्छ कि भन्ने ठूलो डर भयो, हामीमाथि नै आक्रमण हुन्छ भन्ने पनि मनमा चिसो पसेको थियो, हामी कम्पनीको गाडी चढेर हिँडिहाल्यौं,’ उनले भने, ‘त्यसपछि ड्युटी छैन, कोठामै बसिरहेका छौं ।’ उनले कुवेतमा समय–समयमा साइरन बजिरहेको बताए । ‘सडकमा चहलपहल छैन, सुनसान देखिन्छ, हामीलाई कम्पनीले बाहिर ननिस्कनु भनेको छ । सार्वजनिक बसहरू पनि निकै कम छ,’ चार वर्षदेखि कुवेतमा कार्यरत यादवले भने ।

इरानले सोमबार साउदी अरबको सरकारी कम्पनी आरम्कोको स्वामित्वमा रहेको रास तनुरा प्रशोधन केन्द्रमा ड्रोन हमला गर्‍यो । यो साउदीको पूर्वी क्षेत्रमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो । ‘बिहानै अफिसको साइडमा पुगेका थियौं, बिहान ७ र ७ बजेर १० मिनेटमा दुई पटक ड्रोन हमला भयो,’ रास तनुरामा कार्यरत श्यामकुमार ठकुरीले कान्तिपुरसँग फोनमा भने, ‘तर केही भएन, सबै जना सुरक्षित भयौं ।’

प्रतिदिन ५ लाख ५० हजार ब्यारेल तेल प्रशोधन गर्ने सामर्थ्य रहेको यो केन्द्रमा मात्र करिब एक हजार नेपाली श्रमिक कार्यरत छन् । हमलापछि नेपालीसहित सबै आप्रवासी श्रमिकलाई कम्पनीले सुरक्षित रूपमा क्याम्पमा लगेर राखेको छ । ‘आक्रमणपछि प्लान्टभित्र आगलागी भएर धूवाँको मुस्लो फैलियो, एकछिन त निकै डरायौं, संवेदनशील क्षेत्रमा काम गर्ने भएकाले आपत्कालीन अवस्थामा भागदौड नगरी तोकिएको ठाउँमा बस्ने भनेर सिकाइएको थियो,’ उनले भने, ‘आआफ्ना समूह तोकिएको स्थानमा गएर भेला भयौं, बिस्तारै सबै पालैपालो बाहिर निस्कियौं ।’

उनीहरूलाई कम्पनीले श्रमिक क्याम्पमा लगेर राखेको छ । ‘त्यसपछि ड्युटीमा जानुपरेको छैन, अहिले कोठामै बसिरहेका छौं,’ उनले भने, ‘अर्को सूचना जारी नभएसम्म क्याम्पमा नै बसिराख्नु भनेको छ ।’ रियादस्थित नेपाली दूतावासका अनुसार रास तनुरामा कार्यरत नेपाली सुरक्षित छन् । ‘हामी श्रमिकको सम्पर्कमा छौं,’ श्रम कन्सुलर कविराज उप्रेतीले भने, ‘सबै नेपाली सुरक्षित छन् ।’

संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानको लगातार ड्रोन र मिसाइल हमला जारी छ । यूएईमा कार्यरत सीता गैरेले आफूहरूलाई अबुधाबीबाट सारजहामा ल्याएर कम्पनीले राखेको बताइन् । ‘हाम्रो क्याम्प नजिकै अमेरिकी बेसक्याम्प थियो, अहिले त्यहाँबाट सुरक्षाका लागि स्थानान्तरण गरेर सारजहामा राखेको छ,’ उनले भनिन्, ‘परिस्थिति थप जटिल बन्दै गइरहेको भन्ने लागेको छ, युद्ध तत्काल रोकिएन भने स्थिति अझै कठिन बन्छ कि ।’ नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेको कतारमा ड्रोन हमलाबाट मिसाइल र रस्लाफानमा रहेका ऊर्जा उत्पादन केन्द्रमा क्षति पुगेका छन् । कतारको रक्षा मन्त्रालयका अनुसार इरानले गरेको दुई ड्रोन हमलाबाट ऊर्जा उत्पादन केन्द्र र खानेपानी ट्यांकीमा क्षति पुगेको छ । ‘यहाँको लगभग सबै काम गर्ने साइडहरू बन्द गरिएका छन्, कतार सुनसान छ, कोही बाहिर निस्केका छैनन्,’ कतारको अलखोरमा रहेका खोटाङका प्रेमप्रसाद भट्टराईले भने, ‘आइतबार बिहानसम्म त्यति डराएका थिएनौं, सोमबारसम्म आइपुग्दा सबै चिन्तित बनेका छौं ।’

उनले आफू कोठाबाट यताउति नगएको बताए । ‘मिसाइल आउने बेला कतार सरकारले मोबाइलबाट अलर्ट दिन्छ, अलर्ट आएपछि बाहिर ननिस्किनु भनेर सन्देश आएको हुन्छ, तर साथीभाइ निस्केर बाहिर जान्छन्, मिसाइलको भिडियो बनाउँछन्,’ उनले भने, ‘उनीहरू आफैंले आफैंलाई जोखिममा राखेका छन् ।’

लेबनानमा १५ सय नेपाली कार्यरत छन् । इजरायली हवाई आक्रमणबाट लेबनानको बेरुत र दक्षिणी लेबनानमा ३१ जनाको मृत्यु भइसकेको छ । १४९ जना घाइते भएका छन् । बेरुतमा १५ वर्षदेखि कार्यरत रामेछापकी जुनकिरी आलेमगरले आफू बसेको १० मिनेट दूरीको भवनमा मिसाइल विस्फोट भएको बताइन् । ‘सोमबार बिहान मात्र १० चोटि विस्फोट भयो,’ उनले भनिन्, ‘मुटु नै हल्लिने गरी आवाज आउँछ, दुई दिनदेखि अनिँदो भएकी छु ।’

नेपालीहरू तनाव बढ्दै गए पनि उद्धार आवश्यक भइनसकेको बताउँछन् । ‘युद्ध नै सुरु भएको जस्तो लाग्दैन, तर यो ठाउँमा पहिलो पटक आकाशमा मिसाइल आएको देखेर हामी त्रसिद भएका हौं,’ बहराइनमा कार्यरत पदमसुन्दर गुरुङले भने, ‘उद्धार नै गर्नुपर्ने अवस्था भने आइसकेको छैन ।’

उनले स्थिति अझै अन्योलपूर्ण रहेको बताए । ‘खाना र पिउने पानीको अभाव छैन, सबै कम्पनीले आफ्ना श्रमिकलाई सुरक्षित रूपमा क्याम्पमै राखेका छन्,’ उनले भने, ‘युद्ध जमिनमा भन्दा पनि आकाशमा भइरहेजस्तो लाग्छ, आकाशमा निस्तेज गरिएका मिसाइलका टुक्रा खसेर क्षति पुर्‍याउने अवस्था भने छ ।’

इरानका हमला विमानस्थल लक्षित छन् । ‘चुनावमा नेपाल जान शनिबार टिकट लिएको थिएँ, अब जान पाइएलाजस्तो छैन,’ कुवेतमा कार्यरत पोखराका धीरेन सुवेदीले भने, ‘सामाजिक सञ्जालमा देखिएजस्तो युद्ध छैन । जुन ठाउँमा खस्यो, त्यहाँ मात्र क्षति भएको हो, आत्तिने अवस्था आइसकेको छैन ।’ 

रोजगारको करार अवधि समाप्त भएर स्वदेश फिर्ने तयारीमा रहेका श्रमिक भने अलपत्र परेका छन् । यस्ता श्रमिकका लागि रोजगारदातासँग समन्वय गरेर राख्ने काम भइरहेको दूतावासले जनाएको छ । ‘जसको भिसा समाप्त भइसकेको छ, विमानस्थलबाट फर्कनुपर्ने श्रमिकलाई बासस्थान र खानाको प्रबन्ध गर्न रोजगारदातालाई अनुरोध गरिएको छ,’ श्रम कन्सुलर उप्रेतीले भने ।

वैदेशिक रोजगार बोर्डले समेत अलपत्र परेका श्रमिकलाई व्यवस्थापन गर्न रकम उपलब्ध गराउने जानकारी दिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले म्यानपावर व्यवसायीलाई आफूले पठाएका श्रमिकको सुरक्षाका विषयमा रोजगारदातासँग निरन्तर समन्वय गर्न अनुरोध गरेको बताए । ‘नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण गर्ने विषय हाम्रा लागि निकै सर्वोपरि हो,’ उनले भने, ‘जुन म्यानपावर कम्पनीले जुन रोजगारदाताका लागि श्रमिक पठाएका छन्, उनीहरूसँग समन्वय र सहकार्य गरी श्रमिकको अवस्थाबारे नियमित जानकारी लिन अनुरोध गरेका छौं ।’

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कृष्ण न्यौपानेले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यथाशीघ्र द्रुत उद्धार तथा राहतको योजना बनाउनुपर्ने बताउँछन् । ‘सरकारले उद्धार योजनासहित, आफूलाई तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘नेपाल फर्कने क्रममा रहेका नेपाली नागरिक अलपत्र परिरहेका पाइएकाले उनीहरूसमेतको यथाशीघ्र सुरक्षा र संरक्षणतर्फ योजना बनाउनुपर्छ ।’ 

परराष्ट्र मन्त्रालयले खाडी मुलुकहरूको परिस्थितिप्रति निरन्तर अनुगमन भइरहेको जनाएको छ । ‘खाडी क्षेत्रमा रहेका नेपालीलाई आवश्यक परे उद्धार गर्नसमेत तयारी गर्न पराराष्ट्र सचिवको नेतृत्वमा समिति गठन भइसकेको छ, यसमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि छन्,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अहिलेसम्म उद्धार गरिदिनुपर्छ भनेर नेपाली दूतावासमा नेपाली श्रमिक पुगिसकेका छैनन् । उद्धार गर्नुपर्ने परिस्थिति भएमा परराष्ट्रको क्षमता अभिवृद्धि गर्नेसहित आवश्यक तयारी गरिरहेका छौं ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully