दिवससँग पछिल्लोपटक बाबु चामबहादुरले शनिबार बेलुका भिडियो कलमा कुरा गरेका थिए । आइतबार भने छोराका साथीबाट मोबाइल हराएको र भागदौडमा छोराको खुट्टामा चोट रहेकोसम्मको खबर उनको कानमा परेको थियो ।
What you should know
गोरखा — संयुक्त अरब इमिरेट्समा इरानले गरेको ड्रोन आक्रमणमा परी भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ठाटीका दिवस श्रेष्ठको निधन भएको छ । श्रेष्ठको निधनको खबर परिवारका सदस्यहरूले अबुधावीस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गरेपछि सोमबार बिहान मात्र थाहा पाएका थिए ।
‘बाबुको साथीभाइसँग बुझ्दा भागदौड हुँदा मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्नेसम्मको खबर आएको थियो,’ उनका बुबा चामबहादुर श्रेष्ठले भने, ‘मोबाइल छैन भनेपछि अस्तीदेखि भिडियो कलमा पनि कुराकानी हुन पाएको थिएन, के भएको हो, कसो भएको हो, अहिले हल्लाखल्ला गर्न थालेका छन्, छोरालाई फोन गर्दा पनि लाग्दैन ।’
दिवससँग पछिल्लोपटक बाबु चामबहादुरले शनिबार बेलुका भिडियो कलमा कुरा गरेका थिए । आइतबार भने छोराका साथीबाट मोबाइल हराएको र भागदौडमा छोराको खुट्टामा चोट रहेको सम्मको खबर उनको कानमा परेको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले श्रेष्ठको निधनबारे वडा अध्यक्षमार्फत जानकारी गराएपछि भने अहिले ठाटीँ गाउँ शोकमा डुबेको छ । स्थानीयहरू चामबहादुरको घरमा भेला भएका छन् ।
दिवस पछिल्लोपटक एक वर्षअघि दसैं मनाएर रोजगारीका लागि मिडल इस्ट कम्पनीमार्फत सेक्यूरिटी गार्डको रुपमा दुवई पुगेका थिए । सरस्वती माविमा माध्यमिक तहको पढाई पूरा गरेपछि चार वर्ष अघिबाट उनी रोजगारीका लागि दुवई आउजाउ गर्दै आएका थिए । ‘पोहोर दसैंमा आएर गएको हो, अबको छुट्टीमा आउँदा विवाह गर्ने परिवारमा सल्लाह भएको थियो,’ उनका छिमेकी समेत रहेका भिमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठले भने, ‘आज यस्तो खबर सुन्नुपर्यो ।’ चामबहादुरका एक छोरा र एक छोरी छन् । ‘दिवसको आमा छोरी भेट्न काठमाडौंमा हुनुहुन्छ, बुबा र अजी(हजुरआमा) मात्र घरमा हुनुहुन्थ्यो, आज यो खबर घरमा सुनाउन पनि निकै मुस्किल परेको छ,’ उनले भने ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टी गरिसकेको छ ।उनको मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।
अमेरिका-इजरायलले इरानमामा आक्रमण गरेपछि विकसित घटनाक्रमबारे अपडेट लिनुहोस
