तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रावलमाथि कुटपिट

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी रविनबाबु रेग्मीले कुटपिट गर्नेविरुद्ध उजुरी परेको बताए ।

फाल्गुन १९, २०८२

डीबी बुढा

Tatopani Rural Municipality Vice-Chairman Rawal beaten up

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोटमा गाउँपालिका उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ । सोमबार साँझ गाउँकै आइते सार्कीको परिवारले उनीलाई कुटपिट गरेको आरोप छ । 

उपाध्यक्ष रावलका श्रीमान भक्तबहादुर रावलका अनुसार कुटपिटमा आइते सार्कीका छोरा नरी सार्की, दुई छोरी र दुई बुहारी समेतले सघाएका थिए । ‘कुटपिटमा संलग्नहरूले मादक पदार्थ सेवन गरेका थिए,’ भक्तबहादुरले भने, ‘कुटपिटबाट घाइते रावलको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।’

उपाध्यक्ष रावललाई बोल्न समस्या हुनुको साथै टाउकोमा गहिरो चोट लागेको छ । रावलले कुटपिटमा संलग्नहरूमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिएकी छन् । सामान्य विवाद समेत नभएको अवस्थामा आफूमाथि आक्रमण भएको उपाध्यक्ष रावलले दाबी गरिन् । ‘कुटपिट गर्नेले एकपटक घरको भर्‍याङ बनाइदिएका थिए । त्योबापत पैसा पनि लिइसकेका थिए्,’ उनले भनिन्, ‘मलाई कुटपिट गर्नुपर्ने अरु कुनै कारोबार र कारण छैन ।’

'पहिले पनि ममाथि गाउँमै कुटपिट भएको थियो । गाउँको कुरा भनेर मिलापत्र गर्‍र्यौं,’ उपाध्यक्ष रावलले भनिन्, ‘अहिले फेरि कुटपिट भयो । अब कुनै पनि हालतमा मिलापत्र हुँदैन । दोषीउपर कानुनी कारबाही हुनुपर्छ ।’

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी रविनबाबु रेग्मीले कुटपिट गर्नेविरुद्ध उजुरी परेको बताए । उनले भने, ‘घटनाका आरोपितलाई बोलावट भएको छ । आफैं नआए पक्राउ गरेर ल्याउँछौं ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully