ठूला अस्पतालमा निर्वाचनलक्षित 'र्‍यापिड रेस्पोन्स टिम'

निर्वाचनका कारण लामो सार्वजनिक बिदा रहेकाले आकस्मिक उपचार सेवा व्यवस्थापका लागि टिम गठन गरिएको अस्पतालहरूले जनाएका छन् ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Election-targeted 'Rapid Response Team' in major hospitals

काठमाडौं — फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी वीर अस्पतालसहित देशभरका ठूला अस्पतालले र्‍यापिड रेस्पोन्स टिम (द्रुत प्रतिक्रिया टोली) गठन गरेका छन् ।

निर्वाचनका कारण लामो सार्वजनिक बिदा रहेकाले आकस्मिक उपचार सेवा व्यवस्थापका लागि टिम गठन गरिएको अस्पतालहरूले जनाएका छन् ।

निर्वाचनको दिन सबैजसो अस्पतालका ओपीडी सेवा बन्द रहे पनि आकस्मिक उपचार सेवा भने सञ्चालनमा रहनेछन् । वीर अस्पतालले निर्वाचन लक्षित गरी सम्भावित घटनाहरूबाट उत्पन्न स्वास्थ्य आपत्काल व्यवस्थापनका लागि टिम गठन गरिएको जनाएको छ । इमर्जेन्सी विभाग प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा टिम बनाईएको हो । टिममा चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मीहरू छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले निर्वाचनको बेला इमर्जेन्सी उपचार सेवालाई प्रभावकारी बनाउन टिम गठन गरेको निर्देशक जर्नादन पन्थीले जनाए । आवश्यक औषधl, उपकरण चुस्तदुरुस्त राख्न, इमर्जेन्सीबाट आपत्कालीन साइरन कल वा मोबाइलमा म्यासेज आएमा तत्काले चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले सेवा दिने अस्पतालले जनाएको छ ।

भरतपुर अस्तालले निर्वाचनको बेला हुने सार्वजनिक बिदामा ओपीडी बन्द भएपनि इमजेन्सी र अन्तरंग सेवाहरू पूर्ववत सञ्चालन रहने जनाएको छ । फागुन २३ गतेबाट अस्पतालका ओपीडी र प्रशासनिक सेवाहरू सञ्चालनमा आउने अस्पताल प्रशासनले सूचना जारी गरेको जनाएको छ ।

सरकारले निर्वाचनको बेला फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा हुने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले यो बेला इमर्जेन्सी सेवा र अन्तरङग सेवा बाहेक अस्पतालका अन्य सेवाहरू दिवा सत्रमा बन्द  हुने जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्यले सूचना जारी गरेर २०, २२ र २४ गते बिहानी सत्र मात्र सञ्चालन हुने जनाएका छन । निर्वाचनको दिन भने आकस्मिक बाहेकका सेवा बन्द हुने अस्पतालको सुचनामा उल्लेख छ । शिक्षण अस्पताले बिदा स्वीकृत गराएर मात्र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिदामा बस्ने निर्देशन दिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले इमर्जेन्सी विभागका प्रमुख डा. नुरुल होदाको संयोजकत्वमा आपतकालिन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ । अस्पतालले सर्जरी, मेडिसिन, अर्थोपेडिक, डेन्टल, रेडियोलोजी र प्रयोगशाला विभागमा नियमित ड्युटीबाहेक कम्तीमा एक जना मुख्य चिकित्सक र दुई जना अन्य चिकित्सक खटाउन निर्वाचन दिन पनि खटाउन भनेको छ ।

कान्तिपुर

Link copied successfully