लिखित जवाफसहित दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Order to present Durga Prasai in court with a written response

काठमाडौँ — सर्वोच्च अदालतले लिखित जवाफसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउने आदेश दिएको छ । 

बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो । बन्दीप्रत्यक्षीकरण निवेदन सुरेश बोहराले दर्ता गराएका थिए । 

'यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सवुद प्रमाण तथा अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ (चौबीस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गरी बन्दीसहित उपस्थित हुनु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नू,' आदेशमा भनिएको छ । 

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल, अधिवक्ताहरू रेणुकादेवी सिटौला, पारसमणि फुँयाल र विकास भट्टराईले बहस गरेका थिए । 

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ' अभियानका संयोजकसमेत रहेका प्रसाईंलाई निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन् । उनले यही फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन् ।

कान्तिपुर

Link copied successfully