नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न नभएसम्मलाई भारत र चीनतर्फका ४१ जिल्लामा पर्ने अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सोमबार मध्यरातिदेखि ७२ घण्टाका लागि सिल गरिएको छ ।
नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ । आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ । २१ फागुन (बिहीबार) का दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचनमा मतदान समय तोकिएको छ ।
निर्वाचनलाई लक्षित गरी सीमा जोडिएका जिल्लाका स्थानीय प्रशासन र सशस्त्र प्रहरीका बाहिनी, गण र गुल्म/बीओपी तहका युनिटहरूले आफ्ना काउन्टरपार्टमार्फत दुवै देशका सीमा सुरक्षा र प्रशासनसँग समन्वय गरेका थिए । त्यसपछि निर्वाचन आयोगले पनि सीमा नाका सिल गर्न सरकारलाई गत साता नै सिफारिस गरेको थियो ।
सोहीअनुसार मतदान सम्पन्न भएको मध्यरातसम्मलाई सीमाबाट पूर्वस्वीकृतिबिना आवागमनमा रोक लगाइएको हो । यससँगै अब नेपाल र भारतबाट दुवै देशका नागरिक स्थलमार्ग हुँदै सिल गरिएको अवधिसम्म आवागमन गर्न पाउने छैनन् । चीनसँग नेपालको बन्द अवधारणाअनुसार नाका व्यवस्थापन हुँदै आएको छ ।
दुवै देशका नागरिक नेपाल–चीन ओहोरदोहोर गर्न भिसा आवश्यक पर्छ । सीमा जोडिएका जिल्लाको हकमा स्थानीय प्रशासनबाट जारी स्थानीय अनुमतिपत्रबाट पनि निश्चित दूरीसम्म आवागमन गर्न पाइन्छ । तर, निर्वाचन अवधिभर स्थानीय प्रशासनबाट पनि त्यस्तो पास बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपालको भारत १ हजार ८ सय ८० किमि र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा सीमा फैलिएको छ । जसमा भारततर्फ २७ र चीनतर्फ १५ जिल्ला जोडिएका छन् । यसमध्ये भारत र चीन दुवैसँग जोडिएका दुई जिल्ला ताप्लेजुङ र दार्चुला रहेका छ । भारततर्फ फैलिएको सीमा सुरक्षा गर्न सशस्त्रका २ सय ४९ बोर्डर आउट पोस्ट (बीओपी) र चीनतर्फ ११ वटा युनिट तैनाथ गरिएकामा यी युनिटमार्फत मध्यम र छोटी भन्सार/नाका तथा आवागमन गर्न सकिने गौंडा–गौंडामा चेकप्वाइन्ट राखेर आवागमन नियन्त्रण गरिएको छ ।
भौगोलिक विकटताका कारण चीनसँगको सीमाबाट हुने आवागमन नियन्त्रण गर्न सजिलो छ । भारत खुला सीमा भएका कारण नियन्त्रणमा थप चुनौती रहे पनि चेकप्वाइन्ट युनिटहरू बढाएर आउजाउ नियन्त्रण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा फैलिएकामा सशस्त्र प्रहरी बल (एपीएफ) का २ सय ४९ बोर्डर आउट पोस्ट (बीओपी) बाट संयन्त्र परिचालित छन् । भारततर्फको सीमा क्षेत्रमा सशस्त्रले करिब १६ हजार जनशक्ति तैनाथ गराएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपालतर्फको आफ्नो सीमा सुरक्षामा ४५ हजारभन्दा बढी संख्यामा सुरक्षाकर्मी तैनाथ गराएको छ ।
भारतसँग कोशीका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको पूर्वी नवलपरासी, लुम्बिनीका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका दक्षिण भेग जोडिन्छन् । यसैगरी सुदूरपश्चिमका दार्चुला र बझाङ, कर्णालीका हुम्ला, मुगु, डोल्पा, गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, बागमतीका धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखा, कोशीका सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ चीनसँग जोडिएका जिल्ला हुन् । चीनतर्फ सशस्त्रका ११ वटा बीओपी सीमा सुरक्षामा तैनाथ छन् ।
