विभागका महानिर्देशक राजीव पोखरेलले अत्यावश्यक परेकालाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण भइरहेको बताए।
What you should know
काठमाडौँ — देशभर दैनिक करिब ५ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग हुने गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यसअघि आवेदन दिइसकेका करिब २५ लाख सेवाग्राहीलाई अझै लाइसेन्स वितरण गर्न बाँकी रहेको छ।
विभागका महानिर्देशक राजीव पोखरेलले अत्यावश्यक परेकालाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण भइरहेको बताए। उनले भने, 'दैनिक ५ हजार लाइसेन्सको माग हुने गरेको छ। पहिले आवेदन गरिसकेका २५ लाखलाई लाइसेन्स दिन बाँकी छ। अहिले जसलाई आवश्यक छ, उनीहरुलाई तत्काल लाइसेन्स दिने गरिएको छ।’
उनका अनुसार हाल दैनिक करिब ६ सय जना ‘इमरजेन्सी’ भन्दै लाइसेन्स लिन विभाग पुग्ने गरेका छन्। ‘आजको दिनमा दैनिक ६ सय इमरजेन्सी भनेर लाइसेन्स लिन आउने गरेका छन् र वितरण पनि सोही अनुपातमा भइरहेको छ,’ उनले बताए।
अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी विवरण सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइने गरिएको छ। पोखरेलका अनुसार, ‘डेटा पठाइसकेपछि ५–७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने गरेको छ। लाइसेन्स आइसकेपछि वितरण गर्ने गरिएको छ।’
लाइसेन्स अभावको समस्या समाधान गर्न विभागले डिजिटल माध्यमलाई प्राथमिकता दिएको छ। उनले भने, ‘नागरिक एपबाट लाइसेन्स देखाउन सकिन्छ। ट्राफिकले पनि त्यसलाई मान्यता दिने गरेको छ। ट्राफिक नियम उल्लंघन भएमा त्यही लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना अनलाइनबाटै तिर्न सकिन्छ।’
उनले थपे, ‘अब लाइसेन्स वा रसिद बोकेर हिँड्नुपर्ने बाध्यता छैन, मोबाइल बोके पुग्ने भएको छ।’
जेन–जी आन्दोलनका क्रममा विभागमा लागेको आगलागीबाट करिब २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएको उनले जानकारी दिए। संसद् भवन नजिक रहेको कारण विभाग आन्दोलनको केन्द्रमा परेको थियो। ‘विभाग पूर्णरुपमा क्षति हुँदा पनि निकै मेहनत गरेर ६० लाख लाइसेन्सको डेटा रिभाइभ गरेका छौँ,’ उनले भने।
आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिन जलेपछि हाल सेक्युरिटी प्रिन्टिङ प्रेस, बनेपासँग सम्झौता गरी छपाइको काम अघि बढाइएको छ। ‘पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर दिँदैछ। क्रमशः सबैले लाइसेन्स पाउने छन्,’ उनले बताए।
डिजिटल लाइसेन्सको प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको महानिर्देशक पोखरेलको भनाइ छ।
