खाडी क्षेत्रमा जोखिममा परेका नेपालीको विवरण संकलन सुरु

पराराष्ट्र मन्त्रालयले कन्सुलर विभागमार्फत युएई, साउदी अरब, कतार, कुवेत, ओमान, इजरायल, लेवनान, जोर्डन र इराकमा कार्यरत नेपालीको विवरण सुरु गरेको हो ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Collection of details of Nepalis at risk in the Gulf region begins

काठमाडौं — परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा जारी युद्धको जोखिममा परेका नेपाली श्रमिकको विवरण संकलन गर्न थालेको छ । पराराष्ट्रले कन्सुलर विभागमार्फत युएई, साउदी अरब, कतार, कुवेत, ओमान, इजरायल, लेवनान, जोर्डन र इराकमा कार्यरत नेपालीको विवरण सुरु गरेको हो । विवरणकै आधारमा दुतावासले उद्धार आवश्यक पर्ने वा नपर्नेको पहिचान गर्नेछ । नेपाली दूतावासले विवरण संकलन गर्नको लागि तयार गरिएको वेबसाइट सार्वजनिक गरेको छ ।

परराष्ट्रले सबै क्षेत्रमा नेपाली श्रमिक सामान्य र सुरक्षित रहेको जनाएको छ । ‘खाडी क्षेत्र हेर्ने १० वटा नियोगबाट नेपालीहरू सुरक्षित रहेको विवरण प्राप्त गरेका छौं,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘नेपाली दूतावासबाट सरकारी निकाय, नेपाली समुदायसँग नजिकको सम्पर्क र समन्वय भइरहेको छ ।’

उनले परराष्ट्र सचिवको नेतृत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन भइसकेको बताए । ‘यसले नेपालीको सुरक्षा र उद्धारको लागि प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास गरेको छ,’ उनले भने ।

परराष्ट्र मन्त्रालयका पश्चिम एसिया क्षेत्र हेर्ने महाशाखा प्रमुख रामकाजी खड्काले सरकारबाट नागरिक र विदेशी नागरिकको लागि सुरक्षा र प्रत्याभुतिको लागि उच्च महत्व दिइरहेको बताए । ‘ट्रान्जिटमा रहेका नेपालीको लागि सम्बन्धित एयरलाइन्सबाट होटल र खानाको व्यवस्था भइरहेको छ,’ उनले भने, ‘साउदीमा हज र उमराहको लागि गएका ३५ जनाको लागि आवास र खानाको लागि प्रबन्ध मिलाउने पहल भइरहेको छ ।’ उनले एयर अरेबियाका यात्रु  २८ जना र फ्लाई दुबईका  ८० यात्रु ट्रान्जिटमा रहेको बताए ।

कान्तिपुर

Link copied successfully