गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा

गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले मंगलबार ललितपुरका बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

A team of high-ranking officials, including the Home Minister, is monitoring various polling stations in Lalitpur.

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्च अधिकारीको टोली ललितपुरका विभिन्न दुर्गम क्षेत्रको मतदानस्थलको अनुगमन तथा निरीक्षणमा पुगेको छ । उनीसँग गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्चअधिकारी सहभागी छन् । 

गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले मंगलबार ललितपुरका बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो । निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम छ ।

यसअघि आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो । त्यसअवसरमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेका थिए । 

त्यसअघि फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो ।

सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुद र प्रभावकारी बनाएको छ ।

कान्तिपुर

Link copied successfully