कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ ।

फाल्गुन १८, २०८२

रासस

Chance of rain and snowfall in some places of Koshi, Bagmati and Gandaki

काठमाडौँ — देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू-भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

रासस

Link copied successfully