समाचार संकलनमा खटिएका पत्रकारलाई कुनै पनि किसिमका अवरोध नगर्न सबै सरोकार भएकाहरूलाई पत्रकार महासंघले आग्रह गरेको छ ।
काठमाडौं — नेपाल पत्रकार महासंघले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ ।
यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आज अपिल जारी गर्दै महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकार र सञ्चारमाध्यमका सवारी साधनलाई प्रेस पासका आधारमा निर्वाध रूपमा आवाजजावत गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे । समाचार संलनमा खटिएका पत्रकारलाई कुनै पनि किसिमका अवरोध नगर्न सबै सरोकार भएकाहरूलाई महासंघले आग्रह गरेको छ ।
पछिल्लो समयमा ‘सेल्फ सेन्सरपिस’को पीडा भोग्नुपरेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, 'पत्रकार तथा सञ्चारगृहले नियामक निकाय प्रेस काउन्सिल र महासङ्घको प्रतिबद्धता एवं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालनामा इमान्दारिताका साथ समाजप्रति उत्तरदायी भई समाचार प्रकाशन र प्रसारण गर्न उत्तिकै जरूरी छ । भ्रमपूर्ण सूचनाका आधारमा नभई सत्य, तथ्य सूचनालाई सम्प्रेषण गर्न आग्रह छ ।'
पत्रकारलाई सुरक्षित रहेर कार्यस्थलमा जुट्न आग्रह गर्दै अध्यक्ष शर्माले लोकतन्त्रको सुन्दर पक्ष दलीय प्रतिस्पर्धाबाट जनमत प्राप्त गरी अनुमोदित हुनुभएकाले निर्वाचनका सन्दर्भमा संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई भरपुर निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्ने माग गरिन् ।
समाजले नेपाली सञ्चारजगतलाई कसरी हेरिरहेको छ भन्ने गम्भीर प्रश्न उब्जिए पनि संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्छ भन्नेमा महासंघ प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।
