खाडी क्षेत्रमा मात्रै कार्यरत नेपालीको संख्या करिब १९ लाख रहेको छ ।
What you should know
काठमाडौँ — इजरायल र इरानबीच आक्रमण सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । यसले खाडी मुलुकमा कार्यरत लाखौं विदेशी श्रमिकसँगै नेपाली श्रमिकलाई पनि चिन्तित बनाएको छ । खाडी क्षेत्रमा मात्रै कार्यरत नेपालीको संख्या करिब १९ लाख रहेको छ ।
इजरायल र अमेरिकाले शनिबार इरानमामाथि आक्रमण गरेका हुन् । त्यसको बदलामा इरानले पनि अमेरिकी लक्षित आक्रमण सुरु गरेको छ । अमेरिकाको खाडीको कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमानमा आफ्नो सैन्य बेसक्याम्प छ ।
यी देशमा १९ लाख नेपाली कार्यरत छन् । सबैभन्दा बढी संयुक्त अरव इमिरेट्स (युएई)मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेत १ लाख ७५ हजार, बहराइन ३० हजार र ओमान २५ हजार कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।
इरानले कतार, साउदी, बहराइन, युएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको छ । युएईको राजधानी आबुधाबी र दुबईमा आक्रमण गरेको थियो । युएईमा एक जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक जना एसियाली नागरिक रहेको छ । जसको परिचय सार्वजनिक गरिएको छैन ।
युएईले उक्त आक्रमणलाई ‘राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भन्दै कडा शब्दमा निन्दा गरेको छ । युएईले आफ्नो नागरिक र आप्रवासीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । युएईमा रहेको नेपाली दूतावासले ‘अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, युएई सरकारले जानरी गरेको सुरक्षा मार्गदर्शन एवं सूचना पालना गर्न’ अनुरोध गरेको छ ।
कतारको आप्रवासी श्रमिक बस्ने वरुवा सिटीको एक भवन विस्फोट भएको छ । त्यसमा कुनै मानवीय क्षति भएको रिपोर्ट नआएको अलजजिराले जनाएको छ ।
इरानी आक्रमणपछि कतारले ‘अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित’ रहेको प्रतिक्रिया जनाएको छ । ‘कतारी भूभागलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गर्नु राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लंघन, देशको सुरक्षामाथिको प्रत्यक्ष आक्रमण र अस्वीकार्य हो,’ कतारको वक्तव्यमा उल्लेख छ,‘यसले सम्पूर्ण खाडी क्षेत्रको सुरक्षा र स्थायित्वलाई नै खतरा पुर्याउन सक्छ ।’
कतारले अत्यावश्यक बाहेक आफ्नो बासस्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । कतारमा कार्यरत गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रमेश भट्ट कतारद्वारा जारी गरेको सूचना अनुसार आफूहरु सर्तक रुपमा बसेको बताए । ‘साथीहरु के हुन्छ भनेर चिन्तित देखिन्छ । सुरक्षा चेतावनी बढ्ने बित्तिकै सूचना आइहाल्छ,’ उनले भने,‘काम गर्ने केही ठाउँहरु बन्द छ । हामी आफ्नो कोठामा बसिरहेका छौं ।’
बहराइनको राजधानी मनमा नजिकैको ठूलो विस्फोट भएको छ । त्यो विस्फोट अमेरिकी सैन्य क्याम्प भित्र थियो । ‘हामी प्रभावित क्षेत्रको नजिकै छु । भित्र के कस्तो भयो ? केही थाहा छैन,’ बहराइनमा कार्यरत पदमसुन्दर गुरुङले भने,‘बिहान ११:३० देखि १२:३० सम्म धेरै मिसाइल विस्फोट भइ नै रहेको थियो ।’
त्यस क्याम्पभित्र कार्यरत नेपाली सुरक्षित रहेको गुरुङले बताए ।
इजरायलमा कार्यरत श्रीकृष्ण भण्डारीले आफूहरु सुरक्षित रुपमा बसेको बताए । ‘पहिलो भन्दा कडा खालको आक्रमण हुन्छ कि भन्ने डर छ । अब सामान्य बंकरमा नबसेर सार्वजनिक बंकरमा बस्न जानेक्रम सुरु भएको छ,’ भण्डारीले भने,‘यहाँ धेरै साइरन बजेको बज्यै छ ।’
उनले हालसालै इजरायल आएका श्रमिकहरु बढी आत्तिएको बताए । ‘हामीले उहाँहरुलाई सम्झाउने काम भइरहेको छ । नेपाली दूतावाससँग समन्वय भइरहेको छ,’ उनले भने,‘पहिलो चरणमा सुरक्षा सर्तकता नै महत्त्वपूर्ण कुरा हो ।’
गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक रमेश श्रेष्ठले खाडी क्षेत्रभरि सुरक्षा अवस्था झन् गम्भीर बन्दै गएको संकेत देखिएको बताए । ‘कुनै सूचना भए नजिकको नेपाली दूतावासको सम्पर्क नम्बरमा सर्म्पक गर्नुपर्छ । अफवाह र भ्रामक सामाजिक सञ्जाल सूचनाबाट टाढा रहनफर्छ,’ उनले भने,‘यस्तो अवस्थामा हामीले दूतावास वा रोजगारदाताले दिएको सुरक्षा निर्देशन पालना गर्नेदेखि अनावश्यक भीड, प्रदर्शन वा संवेदनशील स्थानबाट टाढा रहन जरुरी छ ।’
परराष्ट्र मन्त्रायलले खाडी क्षेत्रमा उत्पन्न सुरक्षा चुनौतीको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । उसले इजरायल, इरानसहित खाडी क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकलाई बढी सावधानी अपनाउन अत्यन्तै आवश्यक रहेको जनाएको छ । ‘स्थानीय सुरक्षा निर्देशनको पालना गर्न, घरभित्रै सुरक्षित रहन र आफ्नो स्थानको नेपाली समुदायसँग नियमित सम्पर्क राख्नुहोला,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘आनावश्यक यात्रा नगर्नुहोला ।’
