निस्तेज गरिएको मिसाइलको एउटा भाग नेपालीसहित आप्रवासी श्रमिक बस्ने क्याम्प परिसरमा झरेको थियो । त्यस परिसरभित्र झन्डै पाँच हजार नेपाली बस्ने गर्छन् ।
काठमाडौँ — कतारको उकिरस्थित अर्जेटिना क्याम्पमा निस्तेज पारिएको मिसाइल टुक्रा खस्यो । त्यसबाट मानवीय क्षति नभएको एकजना प्रत्यक्षदर्शी नेपाली श्रमिकले इकान्तिपुरलाई बताए ।
इरानले कतारमा रहेको अमेरिकी सैन्य वेसलाई निशाना गरी हानेको मिसाइललाई कतारले आकाशमै निस्तेज गरेको थियो । निस्तेज गरिएको मिसाइलको एउटा भाग नेपालीसहित आप्रवासी श्रमिक बस्ने क्याम्प परिसरमा झरेको थियो । त्यस परिसरभित्र झन्डै पाँच हजार नेपाली बस्ने गर्छन् ।
चार वर्षदेखि कतारमा कार्यरत हरि अधिकारीले आफू बस्ने भिल्ला छेउमा खसेको टुक्रा बिस्फोट हुँदा गाडीहरु जलेको बताए । ‘म बस्ने भिल्लाबाट सय मिटरको दूरीमा निस्तेज पारिएको मिसाइलको टुक्रा गाडीमाथि खसेको हो । केही गाडी जलेको छ । कसैलाई केही भएन,’ दोहामा कार्यरत अधिकारीले भने,‘यो झर्नुभन्दा थोरै समय अगाडि कोठामा नै थिएँ । आकाशमा मिसाइल पड्केको आवाज सुनेर बाहिर निस्किएँ । मिसाइललाई निस्तेज गरेको हेरेर बसिरहेका थियौं । त्यही बेला माथिबाट निस्तेज गरेको मिसाइल घुम्दै तल झरिरहेको देखें । त्यहाँबाट अलि परसम्म भागेर जोगिन सफल भयौं ।’
उनले अहिले अवस्था सामान्य भइसकेको बताए । ‘आज मेरो बिदा थियो । म कोठामा नै बसिरहेको थिएँ । काममा साथीहरु जाने/आउने भइरहेको छ,’ उनले भने,‘यस्तो कुरा त हामीले पहिलो पटक देखेको हो । साथीहरु हेर्ने, फोटो खिच्ने, भिडियो बनाउनेतिर लागेका थिए । मैले कुनै भिडियो बनाइनँ ।’
