काउन्सिलको विशेष अनुगमनका क्रममा दर्ता नभएका सञ्जालबाट प्रचलित निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको पाइएको उल्लेख छ।
काठमाडौँ — प्रेस काउन्सिल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक तथा द्वैषपूर्ण सामग्री प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मिडियाका रूपमा कानुनअनुसार दर्ता/अभिलेखीकरण नभई मिडियाकै आवरणमा सञ्चालन भएका विशेषगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिल्समार्फत निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध होच्याउने, दुष्प्रचार गर्ने, अपमानजनक तथा मिथ्या, गलत, भ्रामक एवं द्वैषपूर्ण सूचना प्रवाह भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले निर्वाचनको निष्पक्षतामा नकारात्मक प्रभाव पार्ने काउन्सिलको भनाइ छ।
निर्वाचन आयोगमा समेत यस्ता सामाजिक सञ्जालबारे उजुरी परेपछि अनुगमन तथा कारबाहीका लागि पत्राचार भएको जनाइएको छ। काउन्सिलको विशेष अनुगमनका क्रममा दर्ता नभएका सञ्जालबाट प्रचलित निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको पाइएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले त्यस्ता सञ्जाललाई नोटिसमा राख्दै आचारसंहिता विपरीत सामग्री स्थगन गर्न, नियमानुसार दर्तारअभिलेखीकरण गर्न तथा कानुन, आचारसंहिता र पेसागत मूल्य–मान्यताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न निर्देशन दिएको जनाएको छ।
अटेर गरी पुनः सामग्री प्रसारण गर्नेविरुद्ध अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरी र साइबर ब्युरो लगायत निकायमा पत्राचार गरिएको पनि काउन्सिलले स्पष्ट पारेको छ।
