गृहमन्त्री र उच्च अधिकारी टोलीले दोलखामा मतदान केन्द्रको अनुगमन गर्दै शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउन निर्देशन दिए ।
What you should know
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।
दोलखाको बैतेश्वर गाउँपालिका मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वश्च, निष्पक्ष धाँधलीरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउनसमेन निर्देशन दिनुभयो ।
गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे ।
शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सहप्रवक्ता रमा आचार्य, डीआईजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैदेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा र वडा सदस्य सोम्बरबहादुर तामाङ सहभागी थिए ।
अनुगमनमा सहभागी सहप्रवक्ता आचार्यका अनुसार छलफलमा २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका बारेमा जानकारी दिनुका साथै प्रतिनिधिसभाको निर्वाचन सुरक्षा योजनाबारे जानकारी दिइएको थियो ।
सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निश्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिए ।
वैतेश्वर गाउँपालिकामा मतदान स्थल ८, मतदान केन्द्र २१ र मतदाता संख्या १८ हजार ४ सय २२ रहेका छन् ।
