४२ वर्षीय मुखिया प्रकाश शाही भने राजनीतिका बारेमा केही जानकार छन् । ‘बालेन शाही जित्छन् र केपी ओली जित्छन् भन्छन्,’ उनले भने, ‘मलाई लामिछाने (रवि लामिछाने) पनि उठेछन् भन्ने थाहा छ । जो उठे पनि हामीहरूबाट भोट हाल्ने काम हुँदैन ।’
What you should know
काठमाडौँ — गाउँ-बस्ती अहिले २१ फागुनमा हुने निर्वाचनको चहलपहलमा व्यस्त छ । तर, नेपालका लोपोन्मुख राउटे समुदायको बस्तीमा भने चुनावी रौनक देखिँदैन । राज्य संरचनासँग टाढा रहेका उनीहरू दल, नेता र निर्वाचन प्रक्रियाबारे बेखबर छन् । निर्वाचनको समय, प्रक्रिया र प्रतिस्पर्धाप्रति उनीहरूमा चासो देखिँदैन ।
फिरन्ते जीवन बिताउने र आफूलाई ‘वनको राजा’ भन्ने राउटे कर्णाली र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका छन् । उनीहरूलाई मुलुकको कानुनी व्यवस्थासँग कुनै सरोकार छैन । राउटेको समुदाय सञ्चालन गर्न मुखिया र महामुखिया छन् । जहाँ उनीहरूको आफ्नै नीति र नियममा चल्छन् ।
मदन भण्डारी राजमार्गमा गुड्ने चुनावप्रचार गरिरहेका सवारी साधन यो बस्तीमा सुनिए पनि नेताहरू बस्तीमा पस्दैनन् । सायद यही कारण, भोट नहाल्ने राउटे समुदायका मुद्दा दलहरूको चुनावी घोषणा-पत्रमा समेत समेटिएका छैनन् ।
०००
८ वर्षीय बालिकाको आगोले पोलेर २६ माघमा मृत्यु भएपछि राउटे समुदाय लेकबेंसी नगरपालिका-७, लमना जंगलबाट बसाइँ सरेर लेकबेंसी नगरपालिका-२ र गुर्भाकोट नगरपालिका १४ को सिमानामा रहेको खहरे खोला छेउमा बसाइँ सरेको छ। राउटेहरू कोही आफन्त बितेमा त्यही ठाउँमा गाडेर अन्यत्र बसाइँ सर्छन् ।
मंगलबार बसाइसराइँका क्रममा भेरी नदी पुलमा भेटिएका ३० वर्षीय बलाल शाही आफूलाई भोट हाल्ने कुरा र चुनावबारे केही थाहा नभएको बताए । ‘भोट हाल्ने भनेको के हो ? थाहा छैन,’ आफैंले बनाएको कालात्मक काठको सामग्री देखाउँदै उनले भने, ‘बरु यो किन्दिनु । मलाई बेच्ने हतार छ।’ निर्वाचन कहिले आउँछ ?, कसरी हुन्छ ? जस्ता चुनावी प्रतिस्पर्धाबारे उनीहरूको चासो नै छैन । उनी जानकारी पनि राख्न चाहन्नन् ।
अहिलेसम्म भोट नहालेको र अब पनि नहाल्ने ७० वर्षीय महामुखिया वीरबहादुर शाहीले बताए । ‘अब केटाहरूको पालो आयो, म मुखिया नबन्ने,’ शाहीले भने,‘ म हिँड्डुल गर्न पनि सक्दिनँ, अलि बल भएको प्रकाशलाई मुखिया बनाएको छु । बूढो भए अब म सक्दिनँ, त्यसैले मुखिया बनाएको । अब मेरो पालो सकियो, केटाहरूको पालो आयो ।’
राउटे समुदायमा आफूले काम गर्न नसक्ने भएपछि महामुखिया बनेर मुखियाको जिम्मेवारी अरूलाई दिने गरिन्छ । महामुखिया सम्मानित पद हो । अधिकार भने मुखियाको हातमा हुन्छ । समुदायमा ठूलै समस्या परेमा मात्र महामुखियाको भूमिका देखापर्छ ।
राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी तीन गोत्र छन् । हरेक गोत्रका एक/एक गरी तीन मुखिया हुन्छन् । रास्कोटी गोत्रका मुख्या भने सबैभन्दा ठूलो पदका मानिने मुखिया हुन । राउटेहरु मुखिया चयन समुदायभित्रकै सहमति र परम्पराअनुसार गर्छन् । बिहे भएको र बालबच्चाहरू भएको पुरुष मुखियाको हकदार हुन्छ। प्रकाश शाही राउटे मुखिया घोषणा क्रमश: पुरुष, महिला र युवाहरूको छुट्टाछुट्टै चरण-चरणमा छलफल भएको राउटे समुदायका शिक्षक लालबहादुर खत्रीले बताए ।
चरणबद्ध छलफलपछि गरिएको सामुहित छलफलले प्रकाशलाई मंसिर २३ गतेदेखि राउटे समुदायको मुखियाको जिम्मेवारी दिएको थियो । राउटे समूहमा सबैभन्दा ठूलो पदका मानिने मुखियाको बोली कानुनसरह हुन्छ । ४० घरपरिवार रहेको राउटे वस्तीमा अहिले १ सय ३३ जना छन् । यदि उनीहरूसँग मतदान अधिकार हुन्थ्यो भने ८१ जना मतदानको लागि उमेर पुगेका छन् ।
४२ वर्षीय मुखिया प्रकाश शाही भने राजनीतिका बारेमा केही जानकार छन् । ‘बालेन शाही जित्छन् र केपी ओली जित्छन् भन्छन्,’ उनले भने, ‘मलाई लामिछाने (रवि लामिछाने) पनि उठेछन् भन्ने थाहा छ । जो उठे पनि हामीहरूबाट भोट हाल्ने काम हुँदैन ।’
राउटेहरू आफ्नै मौलिक सीप र कलाको प्रयोग गरी काठका सामग्री बनाउँछन् । नजिकको बस्ती वा बजारमा पुगेर खाद्यान्न र कपडा साटेर जीविकोपार्जन गर्छन् । राउटेहरू बाहिरी परिवेशसँग घुलमिल नभई आफ्नै समुदायमा रमाउने स्वभावका हुन्छन् । राउटेहरू बाँदरको सिकार गर्छन् । कन्दमूललगायत जंगलमै उत्पादन हुने फलफूल खान्छन् ।
राउटेहरू २०६६ सालमा पहिलो पटक काठमाडौं गएका थिए । त्यो समयमा उनीहरूले तत्कालीन राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री बाबुराम भट्टराईलगायतलाई भेटेका थिए । अनि संविधान निर्माणका बेलामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतलाई भेटेर हातले बनाएको काठको सामग्री उपहार दिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनीहरूले भेटेका थिए। उनीहरूलाई अरु कुराको सरोकार थिएन, भेटका बेलामा सबैसँग आफ्नो समुदायको सामाजिक सुरक्षा भत्ता बढाउन आग्रह गरेका थिए ।
