दुई अतिवादी प्रवृत्तिमा नाम नलिई एमाले र रास्वपा भएको दाहालको दाबी
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भदौ २३ को जेन-जी आन्दोलनलाई दमन गर्ने र भदौ २४ को विध्वंस गर्ने अतिवादी प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आएको बताएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन हुनु एक साताअघि बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी दाहालले जेन-जी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली र भदौ २४ मा घुसपैठ गर्ने तत्वलाई अतिवादी प्रवृत्ति भनेका छन् ।
‘भदौ २३ गते युवाहरुमाथि निर्ममतापूर्वक हत्या गर्ने एउटा अतिवादी प्रवृत्ति अहंकार, दम्भ । दुई तिहाई छ भन्ने अहंकारले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरुहरुको आवाजलाई बलपूर्वक दमन गर्ने जो प्रवृत्ति देखियो, त्यो अहंकार र दम्भको प्रवृत्तिचाहिँ अहिले पनि यो निर्वाचन प्रक्रियामा पनि छ । अहिलेसम्म पनि आत्मसमीक्षा गर्न त्यो प्रवृत्ति तयार भएको छैन,’ उनले भने, ‘अर्को अतिवादी प्रवृत्ति देखापरेको छ । भदौ २४ गते जेन-जी आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई अपहरण गरेर जसरी सिंहदरबारदेखि देशका सबै धरोहरु सर्वोच्च अदालत, संसद् भवनदेखि प्रहरीका कार्यालय, लोकतन्त्र र गणतन्त्रको निम्ति लडेका पार्टीहरुका पार्टी कार्यालय, नेताहरुका निवाससम्म जलाउने जो काम भयो । यी दुइटा अतिवादी प्रवृत्तिका विरुद्ध हामी सुरुदेखि नै संघर्षमा छौं ।’
उनले तत्कालीन सत्ता गठबन्धन र भदौ २४ को प्रवृत्तिविरुद्ध उभिन मतदातालाई आग्रह गरे । ‘यी नेपाली जनताका मनका प्रवृत्ति होइनन्, नेपाल राष्ट्रको स्वाधीनताका विरुद्ध नेपाली जनताको आत्मनिर्णयको अधिकारका विरुद्ध विभिन्नखाले चलखेलहरु मिलेर भएका अतिवादी प्रवृत्तिहरु हुन्,’ उनले थपे, ‘आज निर्वाचनमा यी दुइटा अतिवादी प्रवृत्ति पनि निर्वाचनका प्रक्रियामा छन् भने यी दुइटै अतिवादी प्रवृत्ति गलत हुन् । हामीले राष्ट्रिय एकता कायम गर्नुपर्छ र राष्ट्रको स्वाधिनतालाई अझ सुरक्षित र सुदृढ गर्नु पर्दछ र जनताका चाहना र जेन-जी युवाहरुका आवाजहरुलाई पनि सम्बोधन गर्नु पर्दछ भनेर सुरु देखि लगातार निरन्तर आवाज उठाउने पार्टी नेपाली कम्युनिस्ट पार्टी हो ।’
उनले दुई अतिवादी प्रवृत्तिमा नाम नलिएर एमाले र रास्वपातर्फ संकेत गरे । नेकपा सही प्रवृत्तिका साथ अघि बढेको उनको दाबी थियो । ‘यसरी हेर्दा तीनटा प्रवृत्तिका बीचमा यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ । अब नेपाली जनताको अगाडि निर्णयको घडी आएको छ,’ उनले भने, ‘नेपाली जनताले युवाहरुको हत्या गर्ने अतिवादलाई समर्थन गर्ने, देश जलाउने अतिवाद विभिन्न खालका प्रतिक्रियावादी चलखेलको प्रवृत्तिलाई समर्थन गर्ने या राष्ट्रको पक्षमा स्वाधीनताको पक्षमा परिवर्तनको पक्षमा अनि संविधान संशोधन र परिमार्जनका पक्षमा जेन-जी युवाहरुका जायज मागको पक्षमा उभिने नेपाली कम्युनिस्ट पार्टीलाई समर्थन गर्ने भन्ने अहम् प्रश्न यतिबेला नेपाली जनताको अगाडि छ ।’
उनले अतिवादी प्रवृत्तिले चुनाव जितेमा देशले दुःख पाउने भएकाले इतिहास बोकेको आफ्नो दललाई जिताउन आग्रह गरे । ‘मैले नीतिगत र सैद्धान्तिक रुपले भनिसकेँ अतिवादी प्रवृत्तिले जित्यो भने देशले दु:ख पाउन पनि सक्छ,’ उनले भने, ‘राष्ट्र र जनता, लोकतन्त्र र गणतन्त्रको हितमा आवाज उठाउने र त्यसको निम्ति हिजो इतिहास बनाउने प्रवृत्तिले जित्यो भने त्यसले सहज हुन सक्छ यो हाम्रो सोच हो ।’
यो सँगै उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने दाबी गर्दै ‘हङ पार्लियामेन्ट’ भए पनि मुलुकको हितमा काम गर्नुपर्ने बताए ।
‘नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी गरी यी चारवटा पक्ष बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘मैले अघि नै भनेँ एउटा कसैको बहुमत आउने स्थिति देखिएको छैन ।’ दाहालले भदौ २३ र २४ को घटनाको छानबिन गर्न बनेको आयोगले प्रतिवेदन समयमा नल्याएको भन्दै असन्तुष्टि जनाए ।
‘आयोगको प्रतिवेदन समयमा नै आउनु पर्थ्यो । एकपटक सार्यो । त्यो मान्न सकिने कुरा हो । एक/दुई पटक त्यस्तै पर्यो भनेर भन्न पनि सकिने हो तर तीन पटक र अझ अब चुनाव पछि प्रतिवेदन ल्याउने भन्ने कुरा गलत भएको छ,’ उनले भने, ‘आयोगले दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्थ्यो । जोसुकै भए पनि प्रतिवेदन ल्याउन ढिला सुस्ती गर्ने, समय सार्दै जाने र अझ चुनावपछि पुर्याउने कुरा बिल्कुल सही भएको छैन ।’
