आयोगको म्याद पुनः थपिँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भए पुनः सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
काठमाडौँ — जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको समयसीमा फागुन २२ भित्रै सार्वजनिक गरी कार्यान्वयन गर्न माग गरेका छन्।
उनीहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगको म्याद पुनः थपिँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भए पुनः सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
देश संक्रमणकालीन अवस्थाबाट प्रतिनिधिसभा निर्वाचनको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउनेमा विश्वास जेन–जीले व्यक्त गरेका छन्।
तर आयोगको म्याद निर्वाचनपछि फागुन २२ सम्मका लागि थप गरिएकाले प्रतिवेदन सार्वजनिक नहुने हो कि भन्ने आशंका बढेको जनाइएको छ।
