निर्वाचन सुरक्षामा सेनाका करिब ८० हजार जनशक्ति फिल्डमा तैनाथ भएका छन् ।
What you should know
काठमाडौँ — प्रधान सेनापति अशोकराज सिग्देलले प्रभावकारी रुपमा निर्वाचन सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएका छन् । कोशी प्रदेशस्थित पूर्वी पृतना र मधेशस्थित मध्य पूर्वी पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिटहरूको निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिएका हुन् ।
२१ फागुनमा देशभर एकै चरणमा मतदान हुँदैछ । निर्वाचन सुरक्षामा सेनाका करिब ८० हजार जनशक्ति फिल्डमा तैनाथ भएका छन् । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन एकीकृत सुरक्षा कार्ययोजनाअनुसार निर्वाचनमा बाहिरी सुरक्षा घेराको जिम्मा सेनालाई दिइएको छ ।
मतदानपछि मतपेटिका मतगणना स्थलसम्म पुर्याउन पनि प्रहरी र सशस्त्रका अलवा सेना पनि खटिने गरी सुरक्षा योजना बनेको छ । १६५ निर्वाचन क्षेत्रमै अस्थायी बेस बनाएर मतदान स्थल सुरक्षामा बाहिरी घेरामा खटिएको सेनालाई निर्वाचनविरोधी गतिविधि भएका वा अप्रिय अवस्था निम्तिएमा २० मिनेट भित्र घटनास्थल पुग्ने गरी सेना तैनाथ भएका छन् ।
करिब ७१ हजार प्रहरी, करीब ३५ हजार सशस्त्र र १ लाख ४९ हजार निर्वाचन प्रहरी सुरक्षामा खटिएका छन् । प्रधानसेनापति सिग्देलले भयरहित रूपमा चुनाव सम्पन्न गर्नु सबैको राष्ट्रिय दायित्व भएको र यसलाई मनन गरेर तैनाथ हुन निर्देशन दिएका हुन् ।
मंगलबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सुरक्षा र भए गरेका कामकारबाहीबारे गृह र रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी थिइन् । मंगलबार नै केन्द्रीय सुरक्षा समिति र निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा निर्वाचन व्यवस्थापन र सुरक्षाबारे छलफल भएको थियो । त्यसको भोलिपल्टै प्रधानसेनापति सिग्देल पूर्वी पृतना हेडक्वाटर र मध्य पूर्वी पृतना क्षेत्र पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै निर्देशन दिएका हुन् ।
नेपाली सेनाले पनि विज्ञप्तिमार्फत निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि भा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएको जनाएको छ ।
