भर्जिनियामा हत्या रामपुरमा शोक

यो घटनापछि रामपुरमा रहेका छत्रका छोरा मौसम झनै विक्षिप्त छन् । नहुन पनि किन बुधबार मात्रै छत्रको कान्छी छोरी अर्थात मौसमकी बैनी मनिषाको बिहे तय भएको थियो ।

फाल्गुन १२, २०८२

रमेशचन्द्र अधिकारी

Murder in Virginia, mourning in Rampur

What you should know

Murder in Virginia, mourning in Rampurधनकुटा — स्थानिय समय अनुसार सोमबार बिहान अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित एक नेपाली परिवारमा भएको जघन्य हत्या प्रकरण भयो । यो घटनाबारे उदयपुर जिल्लाको बेलका नगरपालिका ९ रामपुरमा मंगलबार बिहानैदेखि खासखुस चलिरहेको थियो । स्थानियहरुलाइ यो घटनाबारे किन चासो थियो भने घटनाका मुख्य आरोपित छत्रबहादुर थापाबारे स्थानियले कुराकानी गरिरहेका थिए । फेयरफ्याक्स प्रहरीका अनुसार ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरेका ५० वर्षीय छत्रबहादुर थापा प्रहरी कारबाहीमा मारिए । त्यहाँका प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे बताउँदै हत्यामा संलग्न रहेका आरोपी छत्रबहादुर पनि प्रहरी कारबाहीमा मारिएको बताए । 

मुख्य आरोपति छत्रबहादुर गाउँघरमा ‘मिलन’नामबाट परिचित थिए । विभत्स हत्याको यो घटना पछि छत्रका आफन्तीहरु र चिनेजानेकाहरु स्तब्ध छन् । रामपुरमा रहेका छत्रका छोरा मौसम भने झनै विक्षिप्त छन् । नहुन पनि किन बुधबार मात्रै छत्रको कान्छी छोरी अर्थात मौसमकी बैनी मनिषाको बिहे तय भएको थियो । हत्याको घटना गाउँमा आइपुग्नु अघि सुनसरीको चताराधामबाट मनिषाको विहेको तयारी भइरहेको थियो । विहेमा जाने तयारीमा रहेका बेला बाबुआमा र दिदीको मृत्युको अबर आएको बताउँदै मौसमले सुनाए, 'विवाहको लागि आफन्तजन, इष्टमित्र भेला हुने क्रम चलिरहेको थियो । हामीले यो के भोगिरहेका छौ विश्वास नै लागिरहेको छैन ।' जबकी यो बिहेबारे छत्र आफैले अमेरिकाबाट सरसल्लाह दिइरहेका थिए । 

मृतक छत्रबहादुरका भाइ नाता पर्ने सुशिल थापाले गाउँघरमा खेति किसानसंगै कुटानी पिसानीको मिल सञ्चालन गर्दै आएका छत्र गत असोजमा श्रीमतीसहित अमेरीका पुगेको बताए । उनले छोरी 
ममताले नै बाबुआमालाई अमेरीकामा घुम्न बोलाएको बताए । ममता भने २०७३ सालमा डीभी मार्फत अमेरिका पुगेकी थिइन् । 

छत्रकी छोरी मनिषाले घटनाको अघिल्लो दिन अर्थात आइतबार मात्रै बुबासँग कुरा भएको बताइन् । उनले बुबा नेपाल आउन खोजीरहेपनि नमिलेको र बाबुले केही समय अघि मात्रै काम छोडेर बसेको सुनाइन् । उनले भनिन, 'त्यही दिन मम्मी र दिदीसँग पनि कुरा भएको थियो । सबै सहजै थियो । कुनै फरकपन थिएन् ।' 

उनले यो घटनाबारे सही अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आउनुपर्ने बताइन् । भनिन, 'बाहिर तथ्यहरु बांगिएर आएका हुन कि भन्ने पनि हाम्रो शंका छ ।' 

फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो घटनाबारे आफुलाई वर्णन गर्न पनि गाह्रो भइरहेको बताए । उनले भनेका छन, 'म कल्पना पनि गर्न सक्दिनँ त्यो चार भित्ताभित्र के भइरहेको थियो ।' 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully