एमालेका एक नेताले झापा, दाङ र अन्य केही क्षेत्रको प्रतिस्पर्धालाई हेरेर तालमेल हुनसक्ने बताए । उनी अब घोषित रूपमा तालमेल नभए पनि ठाउँ विशेष अघोषित रुपमा सहकार्य हुन सक्ने बताउँछन् ।
What you should know
काठमाडौं — प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच तालमेलको चर्चा चल्न थालेको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाल, उज्यालो नेपाललगायत दलहरू चुनावी मैदानमा भए पनि कांग्रेस, एमाले, नेकपा र राप्रपाबीच प्रमुख नेताका निर्वाचन क्षेत्रमा तालमेलको चर्चा छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएको झापा–५, महासचिव शंकर पोखेरलको दाङ–२, नेकपा संयोजक माधवकुमार नेपालको रौतहट–१, नेता नारायणकाजी श्रेष्ठको सर्लाही–३, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको झापा–३ मा दलहरूबीच तालमेलको चर्चा बढ्दै गएको छ । यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेलको रूपेन्देही–२, नेकपा संयोजक पुष्पकमल दाहाल पुत्री रेनु दाहालको निर्वाचन क्षेत्र चितवन–३ मा पनि तालमेलको चर्चा छ ।
पुराना दलहरू कांग्रेस, एमाले र नेकपाबीच अनौपचारिक तालमेलका लागि कुराकानी भए पनि टुंगोमा नपुगेको सम्बन्धित दलका नेताहरूको भनाइ छ । कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार उठाएको छ । कांग्रेस सभापति गगन थापाले चुनावमा गठबन्धन गर्नु गलत भएको बताउँदै आएकाले यसपटक कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ ।
२०७९ को निर्वाचनमा एमालेले झापा–३ मा राजेन्द्र लिङ्देन र राप्रपाले झापा–५ मा केपी शर्मा ओलीलाई सघाएको थियो । एमालेले १६५ मध्ये १४१ क्षेत्रमा उम्मेदवार उठाएको थियो । अरू क्षेत्रमा तालमेल गरेको थियो । यसपटकको निर्वाचनमा एमालेले १६५ क्षेत्रमै उम्मेदवार उठाएको छ ।
यसपटक पनि एमाले र राप्रपाबीच झापा–३ र ५ मा अघोषित तालमेलको चर्चा छ । त्यस्तै, दाङ–२ मा एमाले र नेकपाबीच र सर्लाही–३ र ४ मा कांग्रेस र नेकपाबीच तालमेलको चर्चा चलेको छ ।
झापा–५ मा एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मुख्य प्रतिस्पर्धी देखिन्छन् । झापा–३ मा पनि राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौती छ । यी दुई क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल भए सहज हुने दुवै पार्टीको विश्लेषण छ ।
सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा, सर्लाही–३ मा नेकपा नेता नारायाणकाजी श्रेष्ठ, रौतहट–१ मा नेकपा सहसंयोजक नेपाल, चितवन–३ मा नेकपा उम्मेदवार रेनु दाहाल, रूपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल चर्को प्रतिस्पर्धामा छन् ।
नेकपा संयोजक दाहालले माओवादीकाे आधार क्षेत्र रुकुम पूर्वबाट उम्मेदवार भएकाले सहज महसुस गरेका छन् । रूकुम पूर्वमा तालमेल आवश्यक नभए पनि छोरी रेनु दाहाल उम्मेदवार भएको चितवन–३ मा अन्य दलसँग सहकार्य हुँदा जित्न सहज हुने ठानेका छन् ।
एमालेका एक नेताले झापा, दाङ र अन्य केही क्षेत्रको प्रतिस्पर्धालाई हेरेर तालमेल हुनसक्ने बताए । ‘अब घोषित रूपमा तालमेल हुँदैन । ठाउँ विशेषअनुसार अघोषित सहकार्य हुन सक्छ ।’ उनका अनुसार रास्वपाविरुद्ध पुराना तीन दलबीच प्रमुख नेताको निर्वाचन क्षेत्रमा जित निकाल्न तालमेल प्रयास हुन सक्छ ।
२०७९ को निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । उक्त चुनावमा कांग्रेस ९१ सिट, माओवादी केन्द्रले ४६ सिट, एकीकृत समाजवादीले १९ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ७ सिट र राष्ट्रिय जनमोर्चा २ सिटमा भागबण्डा गरेर निर्वाचन लडेका थिए । यो निर्वाचनमा कांग्रेसले ८९, एमाले ७८ र माओवादीले ३२ र एकीकृत समाजवादीले ३२ सिट जितेका थिए ।
यो निर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच बाग्लुङ–१ मा मात्र तालमेल भएको छ । उसले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।
एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच रूकुम पश्चिम र दाङ–२ मा तालमेल भएको छ । एमालेले रुकुम पश्चिममा जनार्दन शर्मालाई र दाङ–२ मा महासचिव शंकर पोखरेललाई समर्थन गरेको छ ।
तालमेल बारे के भन्छन् दलका नेताहरू ?
एमाले महासचिव शंकर पोखरेलले निर्वाचनको मुखमा तालमेलको सम्भावना नदेखेको बताए । ‘मैले त त्यस्तो सम्भावना देखेकाे छैन,’ उनले राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा नेकपा संयोजक दाहालले प्रमुख नेताको क्षेत्रमा तालमेलको प्रस्ताव राखेको जानकारी दिए । उनले भने, ‘त्यतिबेला प्रचण्डजीले ‘अहिले मात्रै होइन पछि पनि मुख्य नेताको हकमा सहमति गरेर जानुपर्छ’ भन्ने कुरा गर्नुभएको थियो । त्यसमा शेरबहादुर देउवाजीको पनि समर्थन थियो । त्यसपछि कांग्रेसभित्र परिस्थिति बदलियो । प्रचण्डजीको पार्टीभित्र पनि त्यही दबाब भयो होला । हामीले रुकुम पश्चिममा जनार्दन शर्मालाई सहयोग गरेका छौं ।’
एमालेले रुकुम पूर्वमा पनि प्रलोपाका उम्मेदवार सन्दिप पुनलाई समर्थन गरे पनि नेकपा संयोजक दाहालले गुनासो गरेपछि फिर्ता लिएको उनको भनाइ छ । ‘जनार्दनको आग्रहमा रुकुम पूर्वमा पनि प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवारलाई समर्थन गर्ने कुरा भयो । त्यसमा प्रचण्डजीले गुनासो गर्नुभयो,’ उनले भने, ‘उहाँले ‘मेरै विरुद्धमा तालमेल भयो’ भन्ने कुरा गरेपछि हामीले ‘हाम्रो मनसाय त्यस्तो होइन’ भन्यौं । आफ्नै उम्मेदवारलाई निरन्तरता दियौं ।’
कांग्रेसको कुनै दलसँग तालमेल गर्ने नीति नभएको उपसभापति पुष्पा भुसालले बताइन् । ‘हाम्रो कुनै दलसँग तालमेल गर्ने नीति छैन,’ उनले भनिन्, ‘हामी सबै क्षेत्रमा कडा प्रतिस्पर्धामा छौं । कांग्रेसले तालमेल गर्ने हल्ला मात्र हो ।’
झापा–३ र ५ मा एमालेसँग तालमेल गर्ने हल्ला मात्र भएको झापा–३ का उम्मेदवार एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरे । ‘तालमेल गर्ने सम्बन्धमा कुरै भएको छैन । मेरो निर्वाचन क्षेत्रमा जित्न सहज छ,’ उनले भने, ‘झापा–५ मा पनि हाम्रो उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।’
नेकपाका नेता वर्षमान पुनले जनमोर्चाबाहेक अरू दलसँग तालमेलको संभावना नभएको बताए । ‘निर्वाचन आइसक्यो । सबै उम्मेदवारहरू चुनावी अभियानको अन्तिमतिर आइसकेका छन्,’ उनले भने, ‘अब कुनै क्षेत्रमा तालमेल हुने संभावना छैन ।’
११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । त्यही निर्वाचनमा गठबन्धन गरी प्रतिनिधिसभा निर्वाचनसम्म लैजाने तयारी थियो । तर, एमालेले नेकपासँग सहमति गर्न अस्वीकार गरेपछि नेकपा अलग्गै चुनाव लडेको थियो ।
‘राष्ट्रिय सभा निर्वाचनको सन्दर्भको तालमेलको छलफल गर्दा कांग्रेसका साथीहरूले नेकपासहित तालमेल गरौं भन्ने थियो,’ एमाले महासचिव पोखरेलले भने, ‘हामीले नेकपाको जति सामर्थ्य छ, त्यो अनुसारको राष्ट्रिय सभामा प्रतिनिधित्व भइसकेको छ । एमाले र कांग्रेस मिल्दा पुग्छ भन्ने हाम्रो राय थियो । तर, कांग्रेसले नेकपासहित तालमेल गरौं भनेपछि सहमति गर्यौ तर पछि कांग्रेसभित्रै पनि आन्तरिक व्यवस्थापनमा जटिलता उत्पन्न भयो होला ।’
