नेपाल आएका प्राविधिक टोली एक महिना रहनेछन् र नेपाली व्यवसायी तथा सरोकारवालालाई सिमुलेटर प्रणालीको प्रदर्शन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
What you should know
काठमाडौँ — हेलिकोप्टर पाइलटका लागि अनिवार्य गरिएको सिमुलेटर तालिम नेपालमा औपचारिक रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, युरोपियन युनियनका लागि नेपालकी राजदूत भेरोनिक लोरेन्जो तथा प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले संयुक्त रूपमा गरेका थिए । सन् २०२४ देखि लागू हुने यो व्यवस्थाअनुसार, प्रत्येक नेपाली हेलिकोप्टर पाइलटले वर्षमा एकपटक अनिवार्य रूपमा सिमुलेटर तालिम लिनुपर्छ । प्राधिकरणले यसलाई राष्ट्रिय उड्डयन सुरक्षालाई थप सुदृढ बनाउन र पाइलटको दक्षता सुनिश्चित गर्न आवश्यक कदमका रूपमा लिएको छ ।
प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड विभागका एक इन्जिनियरका अनुसार मंगलबारदेखि सुरु भएको तालिममा प्राधिकरणसहित चारवटा प्रमुख निकाय संलग्न छन् । युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) का दुई जना प्राविधिक, एयरबस हेलिकोप्टर्सका तीन जना तथा लफ्ट डाइनामिक्स (स्विजरल्याण्ड)का तीन जना प्रतिनिधि नेपाल आएका छन् ।
लफ्ट डाइनामिक्सले निर्माण गरेको सिमुलेटर उपकरण काठमाडौं बुधबार आइपुग्ने ती इन्जिनियरले बताए । उक्त सिमुलेटर सिनामंगलस्थित प्राधिकरणको एयर ट्रान्सपोर्ट क्यापासिटी इनहृयान्समेन्ट प्रोजेक्ट कार्यालयमा एक महिना राखिनेछ । त्यहा इच्छुक नेपाली हेलिकोप्टरका पाइलट तथा प्राविधिकले तालिम लिन सक्ने प्राधिकरणले जनाएको छ । हाल नेपालमा ११ कम्पनीमार्फत ४० वटा हेलिकोप्टर सञ्चालनमा छन् भने करिब ६० जना लाइसेन्स प्राप्त हेलिकोप्टर पाइलट रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्स विभागले जनाएको छ ।
अधिकांश हेलिकोप्टर एयरबस बी–थ्री सिरिजका मोडेल हुन् । यही रसियन हेलिकोप्टर अपरेटरले भने सिमुलेटर तालिम लिन पाउने छैनन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सिमुलेटर तालिम हेलिकोप्टरमा अनिवार्य नगरेको भए पनि प्राधिकरणले यसलाई राष्ट्रिय स्तरमै २०२४ बाट अनिवार्य गरेको हो । युरोपियन युनियनबाट स्वीकृति प्राप्त यस तालिममा सहभागी हुन नचाहनेहरूलाई बाध्यकारी नरहेको प्राधिकरणले स्पष्ट पारेको छ ।
नेपाल आएका प्राविधिक टोली एक महिना रहनेछन् र नेपाली व्यवसायी तथा सरोकारवालालाई सिमुलेटर प्रणालीको प्रदर्शन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । यस कदमले नेपालको हेलिकोप्टर उडान सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । सिमुलेटर एक प्राविधिक प्रशिक्षण उपकरण हो, जसले पाइलटलाई वास्तविक उडानको अनुभव दिन्छ। यसमा हेलिकोप्टर वा विमानको ककपिट जस्तै सेटअप हुन्छ र पाइलटले वास्तविक उडान जस्तै नियन्त्रण, मौसम परिवर्तन, यान्त्रिक समस्या, आपतकालीन परिस्थिति अभ्यास गर्न यसमा सक्छन् ।
सामान्यतया, यसलाई भर्चुअल फ्लाइट ट्रेनिङ उपकरण पनि भनिन्छ । यस तालिमले पाइलटको दक्षता, निर्णय क्षमता र उडान सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँछ । नेपालमा २०२४ अघि सिमुलेटर तालिम हेलिकोप्टरमा अनिवार्य थिएन । वरिष्ठ पाइलटले कोपाइलट वा क्याप्टेनलाई उडानमै राखेर तालिम दिँदै आएका थिए । तर, पछिल्ला वर्ष नेपाली हेलिकोप्टर हरेक वर्ष जस्तो दुर्घटनामा पर्न थालेपछि जहाजका पाइलटलाई जस्तै हेलिकोप्टरमा पनि सिमुलेटर तालिम अनिवार्य गरिएको थियो ।
