निर्वाचन सुरक्षा समितिको बैठक सकियो : रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै

बैठकमा विशेषगरी सीमावर्ती र झडप भएका जिल्लामा सुरक्षा फौजको उपस्थिति बढाउने तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचनामाथि कडा निगरानी राख्ने विषयमा पनि छलफल भएको थियो ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Election Security Committee meeting concludes: Security arrangements being further strengthened after clashes in Rautahat and Birgunj

What you should know

काठमाडौँ — आगामी निर्वाचनको सुरक्षा तयारी र देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाबारे सूक्ष्म विश्लेषण गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृहसचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । बैठकले देशभरिको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै संवेदनशील मानिएका क्षेत्रमा थप सुरक्षा बन्दोबस्ती मिलाउने लगायतका महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ ।

विशेषगरी मधेस प्रदेशका रौतहट र वीरगञ्ज लगायतका स्थानमा पछिल्ला दिनमा भएका झगडा तथा झडपका घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ । रौतहटमा विभिन्न समूहबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएको र वीरगञ्जमा समेत ढुङ्गामुढा तथा प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ । यी स्थानमा उत्पन्न तनावले निर्वाचनको वातावरण बिथोल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिमा फेरबदल गर्ने विषयमा छलफल केन्द्रित भएको छ । बैठकले साम्प्रदायिक र राजनीतिक झडप भएका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरेको छ । स्थानीय स्तरमा हुने विवादलाई तत्काल नियन्त्रणमा लिन र निर्वाचन बिथोल्ने तत्वलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइने बुझिएको छ ।

बैठकमा विशेषगरी सीमावर्ती र झडप भएका जिल्लामा सुरक्षा फौजको उपस्थिति बढाउने तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचनामाथि कडा निगरानी राख्ने विषयमा पनि छलफल भएको थियो ।

कान्तिपुर

Link copied successfully