८ वर्षमा १ लाख ६८ हजार सवारी दुर्घटना, १९ हजारभन्दा बढीको मृत्यु

चालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, सडकको दुरवस्था, लामो दूरीमा गुड्ने सवारीसाधनको राम्रो जाँच नगरिँदा सवारी दुर्घटनाको जोखिम बढ्दो छ ।

फाल्गुन १२, २०८२

विमल खतिवडा, पोषनाथ अधिकारी

168,000 road accidents, over 19,000 deaths in 8 years

What you should know

काठमाडौँ/धादिङ — - पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौंडामा सडकबाट दुई सय मिटर तल खस्दा १९ जनाको मृत्यु भएको छ । बसमा चालकसहित ४४ जना सवार थिए । ग२ख १४२१ नम्बरको बस राति साढे १ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

- गत २७ माघमा काठमाडौंबाट रामेछापको सिरिसे–ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्वअरनिको यातायात बस रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भयो । चालकसहित २० जनाको उद्धार गरियो । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको बसमा कति यात्रु थिए अझै यकिन भइसकेको छैन ।

- गत २२ माघमा बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ को मृत्यु भयो । जिल्लाको पुर्चौडी नगरपालिका–७ स्थित भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कंदै गरेको बस बडगाउँ घुम्तीमा सडकबाट दुई सय मिटर तल खसेको थियो । पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस अत्यधिक भारका कारण प्रेसरपाइप फुटेर दुर्घटना भएको अनुमान छ । 

यी पछिल्ला ठूला दुर्घटना हुन् । सवारीचालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, सडकको दुरवस्था, लामो दूरीमा गुड्ने सवारीसाधनको राम्रो जाँच नगरिँदा र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेका छन् । प्रहरीका अनुसार ८ वर्षयता १ लाख ६८ हजार ६ सय २३ सवारी दुर्घटनामा १९ हजार २ सय ६२ जनाले ज्यान गुमाएका छन् । यी दुर्घटनामा ४६ हजार ४ सय ७५ जना गम्भीर र १ लाख ७९ हजार ३ सय ९९ जना सामान्य घाइते भए । 

यस आर्थिक वर्षको माघसम्म १९ हजार ३ सय ५ दुर्घटनामा १ हजार ५ सय ४५ को ज्यान गएको छ । ४ हजार ८ सय ७१ गम्भीर घाइते र २५ हजार ३ सय ५७ सामान्य घाइते भए । बढीजसो सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी बताउँछन् । 

‘तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेका छन्,’ उनी भन्छन्, ‘अर्कोतर्फ जति सडक बनेका छन्, सुरक्षामैत्री छैनन् । चालक र यात्रु दुवैले हतार गर्दा पनि दुर्घटना बढ्ने गरेको छ । हतारले गर्दा क्षमताभन्दा बढी भए पनि यात्रु चढ्न चाहन्छन् भने हतार गरेर चालकले तीव्र गतिमा सवारी चलाउँदा नियन्त्रण गुम्ने गरेका घटना छन् ।’ 

राति चल्ने सवारीसाधनमा दुई जना चालक राख्ने भनिए पनि अभ्यासमा पूर्ण रूपमा नआइसकेकाले पनि दुर्घटना कम हुन सकेको छैन । ‘सवारीसाधनको चेकजाँच गर्ने भेहिकल फिटनेस टेस्ट राम्रोसँग कार्यान्वयनमा आएको छैन,’ एसएसपी अधिकारी भन्छन्, ‘झापा, धनगढी वा बैतडी जाने गाडी छन् भने पहिला त्यसले भेहिकल फिटनेस टेस्ट गराएर जाने व्यवस्था हुनुपर्छ, यी कुरा कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ ।’ 

राजमार्गहरूमा सडक बत्ती नहुँदा पनि दुर्घटनाको जोखिम रहेको र घाइतेलाई तत्काल उद्धार गर्न समस्या हुने गरेको उनले सुनाए । ‘लामो तथा छोटो दूरीमा सवारीसाधन चलाउने चालकलाई दिइने शिक्षा र सचेतना पर्याप्त छैन,’ अधिकारीले भने, ‘जुन अब अनिवार्य गर्न आवश्यक छ ।’ 

168,000 road accidents, over 19,000 deaths in 8 years

सडक राम्रो बन्दै गएकाले लामो रुटमा चालकले तीव्र गतिमा सवारी चलाउने गरेको र त्यसले झनै दुर्घटना बढाएको सडक सुरक्षाविज्ञ डा.भवगती सेढाईं बताउँछिन् । ‘चालकको अवस्था कस्तो छ, कति घण्टादेखि लामो दूरीका सवारीसाधन चलाइरहेका छन्, त्यो हेर्न जरुरी छ,’ उनले भनिन्, ‘कति दुर्घटना थकानका कारण र कतिपय दुर्घटना सडकको अवस्थाले गर्दा हुने गरेको छ ।’ दुर्घटना भइसकेपछि मात्र गाडीको अवस्था ठीक थिएन भन्ने गर्नु गलत रहेको उनले सुनाइन् । 

आसन्न निर्वाचनले आउजाउ गर्नेको भीड बढेकाले दुर्घटना हुन नदिन सबै निकाय सचेत हुनुपर्ने उनको भनाइ छ । ‘सडक र राजमार्गमा सीमित मात्रामा ट्राफिक प्रहरी राखिएको छ,’ उनी भन्छिन्, ‘दुर्घटनाको जोखिम रहेको क्षेत्रमा ट्राफिक प्रहरीको संख्या बढाउन जरुरी छ, प्रयोगकर्ताले सडक सुरक्षाका नियम पालना गरेको देखिँदैन, जसले गर्दा पनि दुर्घटना एकदमै बढेको छ ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने र प्रत्येक ६ घण्टापछि पालैपालोसँग सवारीसाधन चलाउन यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारीधनीले लगाउनुपर्ने उल्लेख छ । तर यो कार्यान्वयनमा छैन । निगरानी गर्ने निकायले यसमा चासो दिएको देखिँदैन । अधिकांशको सुझाव लामो दूरीमा गुड्ने सवारीसाधनको अवस्था जाँच गरेर मात्र गन्तव्यमा पठाउनुपर्ने सुझाव छ ।

‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ भए पनि प्रभावकारी नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थ बताउँछन् । ‘टेकुमा भएको भेहिकल फिटनेस टेस्ट सेन्टर केही प्रभावकारी छ, अन्यत्रका त्यति प्रभावकारी छैनन्,’ उनले भने, ‘मेसिनले राम्रोसँग हेर्ने सुविधा छैन, जनशक्ति पर्याप्त छैनन्, यसलाई प्रभावकारी बनाउन जरुरी छ ।’ यसका लागि सरकारी निकायभन्दा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । 

उपत्यका बाहिर इटहरी, हेटौंडा, बुटवल र अत्तरियामा ‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ छन् । ‘यसले गाडी गुड्न ठीक छ/छैन जाँच्ने हो,’ उनले भने, ‘गाडी चेक गर्न प्रयोग हुने मेसिन थप गरेर यसलाई देशभर प्रभावकारी बनाउनुपर्छ ।’ 

२८ असार ०८१ मा नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर २९ को सिमलतालमा सडक माथिबाट लेदो माटोसहित आएको पहिरोले दुई वटा यात्रु बस बगाउँदा १९ जनाको मात्र शव भेटिएको थियो । दुई वटा बसमा ६२ यात्रु सवार थिए । तीन जना यात्रु सकुशल भेटिए । अन्य ४० त्रिशूली नदीमा बेपत्ता भएका थिए । लगत्तै ३१ असारमा मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो । 

सिमलताल दुर्घटनापछि गठित कार्यदलले बुझाएको दुर्घटना न्यूनीकरणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । ‘दिएको सुझाव कार्यान्वयन हुँदैन, जब घटना घट्छ, तब मात्र सरकारी निकाय तात्ने चलन छ,’ उनले भने, ‘सरकारी निकायबाट सार्वजनिक यातायातलाई बेवास्ता गरिएको छ ।’ 

राजमार्गमा हुने खाल्डाखुल्डीले पनि दुर्घटना निम्त्याउने भएकाले यसको व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ । ‘सवारी चालकले सावधानीपूर्वक सवारीसाधन चलाउनुपर्छ,’ उनले भने, ‘यात्रुले अनिवार्य रूपमा टिकट काटेर यात्रा गर्नुपर्छ, सवारी चालकबीच हुने अस्वस्थ प्रतिस्पर्धाले पनि दुर्घटना हुने गरेको छ ।’ अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न लगानीमैत्री, मजदुरमैत्री र यात्रु तथा उपभोक्तामैत्री नीति सरकारले ल्याउनुपर्ने उनको सुझाव छ । 

168,000 road accidents, over 19,000 deaths in 8 years

सिमलताल दुर्घटनापछि गठित कार्यदलले दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको थियो । जसअनुसार नयाँ सडक सुरक्षा ऐन तर्जुमा गर्ने, राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना गर्ने, राष्ट्रिय सडक सुरक्षा नीति तर्जुमा गर्ने, सडक सुरक्षासँग सम्बन्धित विभिन्न प्रकारका मापदण्ड, संहिता, कार्यविधि तयार गर्ने भनिएको थियो ।

सडकको वर्गीकरणअनुरूप मापदण्ड तयार गर्ने, जोखिमपूर्ण सडकमा ‘क्र्यास बेरिएर’ अनिवार्य गर्ने, मुख्य राजमार्गको जोखिम आकलन गरी जोखिमको जानकारी अनिवार्य रूपमा सार्वजनिकीकरण गर्ने, राजमार्गका जोखिमयुक्त र महत्त्वपूर्ण स्थानमा सडक बत्ती तथा सीसीक्यामरा जडान गर्नुपर्ने सुझावमा उल्लेख छन् । सवारी मर्मत गर्ने वर्कसपको गुणस्तर सुनिश्चितताका लागि प्रमाणीकरण व्यवस्था गर्ने सुझाव आंशिक रूपमा मात्र कार्यान्वयनमा आएको छ । 

कतिपय सुझाव कार्यान्वयनकै चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । ‘राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सडक सुरक्षा ऐन र नियमावली तयार छन्, तर संसद् छैन,’ उनले भने, ‘संसद्मा लग्नुपर्ने ऐन पनि छन्, त्यसमा प्रगति छैन, राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना गर्न ऐन चाहिन्छ, ऐन लागू भएपछि यो कार्यान्वयनमा समस्या छैन ।’ 

कोशी र सुदूरपश्चिम प्रदेशमा पुराना सडकमा ७० किलोमिटर ‘क्र्यास बेरिएर’ राखिएको उनले बताए । ‘नयाँ सडकमा धेरै ठाउँमा क्र्यास बेरिएर राखेका छौं,’ उनले भने, ‘सुझावलाई क्रमशः कार्यान्वयन गर्दै लग्नेछौं ।’ तर ‘भेहिकल फिटनेस टेस्ट’ गर्ने ठाउँ कम भएको उनको भनाइ छ । ‘यसमा जनशक्ति पनि कम छन्,’ उनले भने, ‘भेहिकल फिटनेस टेस्ट बनाउने कुरामा निजी क्षेत्रलाई अघि ल्याउने तयारी गरिरहेका छौं, उसलाई नियमन गर्ने काम सरकारले गर्छ ।’

धादिङ दुर्घटनाबारे अध्ययन गर्न सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले बताए । ‘निर्वाचन नजिकिएको छ, यो बेला सुरक्षित हिसाबले गन्तव्यमा जाने यात्रु, सवारीसाधनलाई चेकजाँच गर्ने विषयलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ,’ उनले भने, ‘नियमनकारी निकायको भूमिकालाई थप प्रभावकारी बनाउने र धादिङ दुर्घटनाका घाइतेको उपचार व्यवस्थापनमा समन्वय गर्ने काम भइरहेको छ ।’ 

मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार तिवारी कार्यदलले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । कार्यदलमा नेपाल प्रहरीका एसएसपी, सशस्त्र प्रहरी बलका एसएसपी, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर र गृहका उपसचिव सदस्य छन् । 

धादिङमा दुर्घटनामा ज्यान गुमाउनेमा विदेशी पनि 

पोखराबाट काठमाडौं आउँदै गरेको बस सोमबार बिहान करिब सवा एक बजे धादिङको बेनीघाट रोराङ–५ चरौंदी नजिक चाइनाधारामा सडकबाट त्रिशूली नदी किनारमा खस्दा तीन विदेशीसहित १९ जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ घाइते भएका छन् । पृथ्वी बस समितिको उक्त गाडी आइतबार साँझ ७ बजे पोखरास्थित पर्यटक बसपार्कबाट काठमाडौंका लागि छुटेको थियो ।

168,000 road accidents, over 19,000 deaths in 8 years

स्थानीय सुदीप गौलीका अनुसार राति एक्कासि ठूलो आवाज र चिच्याहट सुनेपछि नदीपारि गोरखा घ्याल्चोकका बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । लगत्तै स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।

घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, स्थानीय बासिन्दा तथा र्‍याफ्टिङ व्यवसायी उद्धारमा खटिएका थिए । घाइतेलाई मलेखु र गजुरीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो । काठमाडौं पठाइएकामध्ये १४ को ट्रमा सेन्टर र १० को नेसनल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।

बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई करिब पाँच घण्टापछि उद्धार गरिएको राजमार्ग विपद् व्यवस्थापन आदमघाट बेसका डीएसपी सुनील गिरीले बताए । बसको फलामे भाग काटेर उनलाई बाहिर निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार ज्यान गुमाउने सबै १९ जनाकै सनाखत भइसकेको छ ।

मृत्यु हुनेमा बेलायती नागरिक स्टिवर्ट डोमिनिक, चिनियाँ नागरिक जियाङ चोनुमको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । भारतीय नागरिक मनीष शुक्ला, चालक सुजित नेपाली, अनिशा महर्जन र हीरा चौधरीको परिवारका सदस्य नआइपुगेकाले पोस्टमार्टम बाँकी छ । अन्यको पोस्टमार्टम गरी शव परिवारलाई जिम्मा लगाइएको छ ।

त्रिशूली किनारमा सोमबार बस खस्दा ज्यान गुमाउने १९ जना

विदेशी

नेपाली 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

पोषनाथ अधिकारी

Link copied successfully