धावनमार्गको ७२ प्रतिशत भाग छाडेर बाँकी २८ प्रतिशत भूभागमा मात्रै जहाज अवतरण हुँदा उक्त जहाज थप १ सय ८३ मिटर घाँसेमैदान हुँदै खोल्सोमा गएर जहाज दुर्घटनामा परिणत भएको दुर्घटनाबारे अध्ययन गर्न गठन गरिएको दुर्घटना जाँचबुझ आयोगको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।
What you should know
काठमाडौँ — झापाको चन्द्रगढी विमानस्थलको धावनमार्गको कुल लम्बाइ १५ सय मिटर छ । त्यहाँ एटीआर जहाज अवतरण गर्दा धावनमार्गको अन्तिम विन्दुबाट ३ सय मिटर छाडेपछि भुइँ टेकेर १२ सय मिटरभित्र गुडेर रोकिनुपर्छ । तर झण्डै दुई महिनाअघि दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानले उक्त धावनमार्गको अन्तिम विन्दुबाट १ हजार ८० मिटर पर पुगेर २८ प्रतिशत भूभाग बाँकी रहँदा मात्रै अवतरण गरेको यो घटनाको जाँचबुझ आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
धावनमार्गको ७२ प्रतिशत भाग छाडेर बाँकी २८ प्रतिशत भूभागमा मात्रै जहाज अवतरण हुँदा उक्त जहाज थप १ सय ८३ मिटर घाँसेमैदान हुँदै खोल्सोमा गएर जहाज दुर्घटनामा परिणत भएको यो दुर्घटनाबारे अध्ययन गर्न गठन गरिएको दुर्घटना जाँचबुझ आयोगको आइतबार सार्वजनिक प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।
२०८२ पुस १८ गते काठमाडौंबाट ५१ यात्रु र ५ जना चालक दलका सदस्य बोकेर चन्द्रगढीका लागि बेलुका ८ बजेर २१ मिनेटमा उडेको बुद्ध एयरको एटीआर ७२ ‘अल्फा माइक फक्सट्रट’ राति ९ बजेर ५ मिनेटमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिँदै बाहिर गएको थियो । दुर्घटनामा विमानमा क्षति पुगे पनि यात्रु तथा चालक दल सुरक्षित रहेका थिए । कोपाइलट र चार जना यात्रु सामान्य घाइते भएका थिए । उक्त घटनाको छानबिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २३ गते समिट एयरका वरिष्ठ क्याप्टेन विनोद पुरीको संयोजकत्वमा दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आइतबार मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा अवतरणका क्रममा तोकिएको ‘थ्रेसहोल्ड जोन’ मा अवतरण नभई त्यसभन्दा अगाडि टेकिनु नै दुर्घटनाको प्रमुख कारण रहेको उल्लेख गरेको छ ।
काठमाडौंबाट उडेको जहाज मोरङ नाघेर झापा जिल्लाभित्र प्रवेश गरेपछि चन्द्रगढी विमानस्थलबाट २१ किलोमिटर पर पर्ने ‘महेश’ नामको रिपोर्टिङ बिन्दुबाट चालक दलले जहाज ४४ सय फिट उचाइमा विमानस्थलतर्फ आइरहेको जानकारी गराएका थिए । त्यसपछि उक्त विमानलाई एयर ट्राफिक कन्ट्रोलरले ९ बजेर १ मिनेटमा अवतरणको अनुमति दिएका थिए । तर जहाज धावनमार्गमा एटीसीले दिएको समयभन्दा ४ मिनेट ढिलो अवतरण भएको थियो । ‘९ बजेर ५ मिनेटमा अवतरणका क्रममा विमान रनवेमा टेकेपछि चिप्लिँदै बाहिरिएको थियो । जहाजमा भएको एफडीआर (फ्लाइट डेटा रेकर्डरको तथ्यांक अनुसार जहाज १५ सय मिटर लामो रनवेको ७२ प्रतिशत भाग (१ हजार ८० मिटर) छाडेर बाँकी ४ सय २० मिटर रहेको भूभागमा टेकेको देखिएको छ । भुइँ टेकेर ३२ मिटर हाराहारी गुडेपछि धावनमार्गको ११ सय १२ मिटर दूरीमै जहाजले ब्रेक लगाइएको संकेत गर्ने स्किड मार्क भेटिएका छन् ।’ प्रतिवेदनमा लेखिएको छ ।
‘रनवेको १० नम्बर विन्दुको थ्रेसहोल्डबाट करिब ३ सय मिटरभित्र जहाज अवतरण हुनुपर्थ्यो । तर त्यसदिन त्यसभन्दा धेरै अघि १ हजार ८० मिटर अघि जहाज अवतरण भएको देखिन्छ । धावनमार्गको १० नम्बर विन्दुबाट पसेको जहाजले ४ सय २० मिटर मात्रै धावनमार्ग प्रयोग गरेको देखियो,’ जाँचबुझ आयोगका संयोजक पुरीले कान्तिपुरलाई सोमबार साँझ भने,‘यदि धावनमार्गको थ्रेसहोल्डबाट ३ सय मिटरभित्र ल्यान्डिङ गियरले टेकेको भए उक्त उडान सुरक्षित हुने थियो ।’ आयोगले यो घटनाको विस्तृत प्राविधिक विश्लेषणसहित अन्तिम प्रतिवेदन आउन थप एक महिना लाग्ने जनाएको छ । यो घटनाको छानबिन आयोगमा हिमालय एयरलायन्सका क्याटेनहरु मनिर श्रेष्ठ र रिवाज प्रधान, हयुमन फ्याक्टर विज्ञ डा. अजय प्रधान र हिमालय, श्री एयरलायन्सका इन्जिनियर सुरेश ब्रजाचार्य सदस्य थिए ।
चन्द्रगढी विमानस्थलको धावनमार्गको लम्बाइ १५ सय मिटर छ । धावनमार्गको पश्चिम विन्दुको नाम १० र पूर्वतर्फ रहेको अर्को विन्दुको नाम २८ हो । उक्त जहाजको फलाइट डेटा रेकर्डरका अनुसार जहाजले रनवे १० को अन्त्यबाट करिब १ हजार ८० मिटर छाडेर ४ सय २० मिटरमा टेकेको छ भने ११ सय १२ मिटर दूरीबाट ब्रेक लगाएको संकेत आयोगले अध्ययनका भेटेको छ । जहाजका पांग्राले टेकेका विन्दुपछि अगाडि जहाज चिप्लिएको संकेत (मार्क) देखिएका थिए । प्रतिवेदनमा उल्लेख भएअनुसार विमान पहिले दायाँतर्फ मोडिएर त्यसपछि बायाँतर्फ मोडिँदै रनवेबाट बाहिरिएको थियो । त्यस क्रममा विमानस्थलको भित्री बार तोड्दै धावनमार्गको अर्को २८ नम्बर विन्दुबाट करिब १ सय ८३ मिटर पूर्वतर्फ खोल्सोमा गएर रोकिएको थियो ।
प्रारम्भिक प्रतिवेदनअनुसार उक्त उडान चालक दलको त्यस दिनको पाँचौं तथा अन्तिम उडान थियो । उडानका क्रममा प्रमुख क्याप्टेन शैलेश लिम्बू ‘पाइलट मनिटिरङ’ र कोपाइलट सुशान्त श्रेष्ठ जहाज अवतरण गराउने भूमिकामा थिए । त्यसदिन हावाको दिशा, क्यूएनएच र तापक्रम जहाज अवतरणका लागि अनुकूल नै थिए । दुर्घटनापछि यात्रुहरूलाई दायाँपट्टिको सर्भिस ढोका र बायाँपट्टिको आपतकालीन ढोकाबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो । ककपिटको ‘स्केप ह्याच’ खोलिए पनि चालक दलले अन्ततः सर्भिस ढोकाबाटै बाहिरिएको आयोगलाई बयानमा भनेका छन् । यो दुर्घटनामा जहाजको मुख्य तथा नोज ल्याण्डिङ गियर, प्रोपेलर र इन्जिनमा उल्लेखनीय क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । उक्त दुर्घटनामा भद्रपुर विमानस्थलको दमकल कति समयमा घटनास्थल पुगेको थियो भन्नेबारे आयोगले केही उल्लेख गरेको छैन । यो दुर्घटनापछि बुद्धका दुवै पाइलटलाई उडानमा रोक लगाइएको छ ।
बुद्ध एयरका एक वरिष्ठ क्याप्टेनका अनुसार, हाल बुद्धमा ६२ क्याप्टेन र ६७ कोपाइलट छन् । बुद्धले यो घटनापछि आफ्ना कोपाइलटलाई काठमाडौं, पोखरा, भैरहवा र धनगढीबाहेक अन्य साना विमानस्थलमा जहाज उडान र अवतरणमा रोक लगाएको छ । त्यसैगरी उसले त्यहाँको अपरेसन विभागको जिम्मेवारीमा रहेका आधा दर्जन पाइलटहरुको भूमिका पनि हरेफेर गरेको छ । अपरेसन विभागका प्रमुख रञ्जन शर्माले राजीनामा दिएका छन् । उनी बुद्ध एयरको २८ वर्षको स्थापनाकालदेखि नै कार्यरत वरिष्ठ पाइलट थिए । बुद्धका एक निर्देशकका अनुसार, अहिले अपरेसन विभाग प्रमुखमा क्याप्टेन प्रमोद थापा र चिफ पाइलटमा शैलेश रावललाई जिम्मेवारी दिइएको छ । तालिम प्रमुखमा रवि श्रेष्ठ, मेनिट केसीलाई तोकिएको छ ।
१० हजार ८ सय घन्टा उडिसकेको बुद्धको यो १८ वर्ष पुरानो विमान अझै भद्रपुरमै राखिएको छ । यसलाई मर्मत गरेर उडानमा फर्काउने सम्भावना ज्यादै न्यून रहेको बुद्ध एयरका अधिकारीहरुले भनेका छन् । विमानको विमाबारे सिंगापुरको कम्पनीले अध्ययन गरिसके पनि प्रतिवेदन बुझाइनसकेको कम्पनीले जनाएको छ ।
