भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रन–वेमा चिप्लियो, सबै यात्रु सकुशल

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जहाज रन-वेभन्दा बाहिर गएको भए पनि यात्रु र चालक दल सुरक्षित छन् । तर, जहाजमा क्षति पुगेको छ ।

पुस १८, २०८२

सुरज कुँवर, पर्वत पोर्तेल

Buddha Air plane skids off runway at Bhadrapur Airport, all passengers safe

विराटनगर,काठमाडौं — कोशी प्रदेशको भद्रपुर विमानस्थलमा शुक्रबार बुद्ध एयरको जहाज रन–वेबाट चिप्लिएको छ । प्रारम्भिक जानकारीअनुसार, जहाज चिप्लिएर धावनमार्गबाट केही बाहिर पुगेको हो । जहाजमा क्षति पुगे पनि यात्रु र चालक दलमा कुनै चोटपटक नभएको बताइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जहाज रन-वेभन्दा बाहिर गएको भए पनि यात्रु र चालक दल सुरक्षित छन् । तर, जहाजमा क्षति पुगेको छ ।  

जहाज अवतरणको क्रममा रन–वेबाट केही तल चिप्लिएको थियो ।  काठमाडौं–भद्रपुर उडान ९०१ नम्बरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको जनाइएको छ ।

अहिले यात्रु ओराल्ने प्रक्रिया चलिरहेको छ । सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् ।

भद्रपुर विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार अहिले उद्धारको कार्य जारी छ । यो उडान नम्बर ९०१ काठमाडौंबाट ५१ यात्रु लिएर उडेको थियो । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्रारम्भिक जानकारीअनुसार ५१ जना यात्रु सकुशल छन् । चालक दलबारे जानकारी आएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल कार्यालयका अनुसार, यो घटना ९ बजेतिर भएको हो ।

बुद्ध एयरका निर्देशक रुपेश जोशीले जहाज हिलोमा परेर क्षति भएको प्रारम्भिक जानकारी आएको भन्दै यात्रु र चालक दलका सबै सकुशल रहेको बताए । उनले जहाज चिप्लनुको कारण मौसम हुन सक्ने बताए । 

यो बुद्धको अन्तिम उडान थियो । यो जहाज राति त्यहीं बसेर भोलि बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाज हो ।

काठमाडौंबाट गएको एटीआर धावनमार्गको एक जीरो विन्दुबाट अवतरण भएको थियो भने पूर्वतर्फ २८ नम्बर विन्दुबाट बाहिर गएको थियो । यो विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर रहेको छ ।

भद्रपुर विमानस्थल प्रमुख किशोर कुमार खत्रीका अनुसार, जहाज धावनमार्गको अन्तिम विन्दुबाट करिब डेढ सय मिटर अगाडि पुगेको रहेछ । भौतिक पूर्वाधारमा कुनै क्षति भएको छैन । पानीको भेल बग्ने कुलेसोमा पुगेर जहाज रोकिएको उनले बताए । राति १० बजेसम्मको जानकारी अनुसार यात्रुहरु जहाजबाट निकाल्ने काम भइरहेको र सुरक्षाकर्मी र वायुसेवाका कर्मचारीले यात्रुका लगेज निकालेर जम्मा गरिरहेको उनले बताए । 

यो विमान चिप्लिएकाले भोलि (शनिबार) उडान हुने/नहुने टुंगो लागिसकेको छैन । विमानस्थल प्रमुख खत्रीले प्राधिकरणसँग समन्वय गरेर उक्त जहाज निकाल्ने काम हुने बताए । जहाजमा के–कति क्षति पुगेको छ यसबारे बुद्धका इन्जिनियरले अध्ययन गर्नुपर्ने उनले जानकारी दिए ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully