साउदीमा एक सातामै १९ हजारभन्दा बढी आप्रवासी पक्राउ, १४ हजारभन्दा बढी डिपोर्ट

साउदी अरबको गृह मन्त्रालयका अनुसार १२ देखि १८ फेब्रुअरीसम्म विभिन्न स्थानमा संयुक्त जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

More than 19,000 immigrants arrested in Saudi Arabia in one week, more than 14,000 deported

काठमाडौँ — साउदी अरबका सुरक्षाकर्मीले एक सातामा १९ हजारभन्दा बढी कागजातविहीन आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।

साउदी अरबको गृह मन्त्रालयका अनुसार  १२ देखि १८ फेब्रुअरीसम्म विभिन्न स्थानमा संयुक्त जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । साउदीले पछिल्लाे समय कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानमा तिव्र बनाएको छ ।

गृह मन्त्रालयद्धारा जारी सूचनाअनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी आवासीय भिसाको म्याद नभएका १२ हजारभन्दा बढी श्रमिक छन् । यस्तै, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार र श्रम कानुन उल्लंघन गर्ने करिब ३ हजार छ । पक्राउ गरेकोहरूमध्ये एकहप्ताभित्रै १४ हजारभन्दा बढी श्रमिकलाई 'डिपोर्ट' गरिएको छ ।

१५ हजारभन्दा बढी प्रवासी श्रमिकलाई ट्राभल डकुमेन्ट बनाउन  आफ्ना देशका दूतावासमा पठाइएको छ । नेपाली दुतावासका अनुसार साउदीमा कागजातविहिन भएर बस्ने नेपालीको संख्या अन्य देशको तुलनामा कम छ । गृह मन्त्रालयले अवैध रूपमा मानिस ल्याउन सहयोग गर्ने, बस्न दिने, काममा लगाउनेलाई १५ वर्षसम्म जेल सजाय र १० लाख साउदी रियालसम्म जरिवाना हुनसक्ने चेतावनी दिएको छ ।

कान्तिपुर

Link copied successfully