अर्यालले सामाजिक सञ्जालमा चलाइने मिथ्या र दुष्प्रचारबाट सचेत भएर आ–आफनो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबैलाई अनुरोध गरेका थिए ।
What you should know
हेटौंडा — गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण वनाउन आग्रह गरेका छन ।
मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको उल्लेख गरेका थिए ।
सरकारको प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारबाट सचेत भएर आ–आफनो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबैलाई अनुरोध गरेका थिए ।
निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा गृहमन्त्री अर्यालसंगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफले, काठमाडौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौका प्रहरी प्रमुख (एसएसपी) रमेश थापा लगायत उच्च पदाधिकारीहरु सहभागी रहेको थियो ।
मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुको साथै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलचौरस्थि कालिका मावि मतदान केन्द्रको अनुगमन गरेका थिए । उक्त वक्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारी प्रमुख प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जिल्लाको सुरक्षाको अवस्था जानकारी गराएका थिए ।
गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षा सम्बन्धी विषयमा छलफल भएको थियो। अनुगमनका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्लाको जनपथ, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसंधानका प्रमुख समेतको उपस्थिती रहेको थियो ।
त्यसैगरी मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवरको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।
दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुकासाथै सुरक्षा व्यवस्थापन र परिचालन सम्बन्धी मन्त्री अर्यालले आवश्यक निर्देशन दिएका थिए ।
