मायादेवी मन्दिर पुगेर प्रधानमन्त्री कार्कीले गरिन् शान्तिपूर्ण निर्वाचनको कामना

शनिबार बिहान प्रधानमन्त्री कार्कीले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सबै सुरक्षा निकाय प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएकी थिइन् ।

फाल्गुन ९, २०८२

मनोज पौडेल

PM Karki visits Mayadevi Temple, wishes for peaceful elections

लुम्बिनी — प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सपन्न भएर मुलुकमा शान्ति, स्थिरता र सुशासन कायमको कामना गरेकी छन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरमा रहेको आगन्तुक पुस्तिकामा आफ्ना भावना राख्दै शान्तिको मुहान लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी भएको उल्लेख गरेकी छन् । 

सेनाको हेलिकप्टरबाट शनिबार यहाँ आएकी उनले मायादेवी मन्दिरभित्र भिक्षुणीहरुसँग पञ्चशील पाठ र बुद्ध बन्दना गरेकी थिइन् । त्यसपछि अशोक स्तम्भमा दीप प्रज्जवलन गरेकी थिइन् । त्यसअघि उनले लुम्बिनी म्यूजियम, रोयल थाई मोनाष्ट्री, विश्व शान्ति स्तुप र बज्रयान विहार अवलोकन गरेकी थिइन् ।साढे १० बजे आएकी उनी दिउँसो २ बजे राजधानीका लागि उडेकी थिइन् ।  

लुम्बिनी ऐतिहासिक, पुरातात्विक महत्त्व, उत्खनन र संरक्षणका प्रयास तथा लुम्बिनी विकास गुरुयोजनाबारे प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ र वरिष्ठ निर्देशक ज्ञानीन राईले जानकारी दिएका थिए । 

त्यसअघि शनिबार बिहान प्रधानमन्त्री कार्कीले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सबै सुरक्षा निकाय प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएकी थिइन् । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully