निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन, खुला सीमा मुख्य चुनौती

चुनावको मिति नजिकिएसँगै प्रधानमन्त्री कार्कीले अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले बताए ।

फाल्गुन ९, २०८२

घनश्याम गौतम

PM Karki directs to make elections fair and peaceful, says open borders are main challenge

What you should know

बुटवल — प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।

शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भन्दै त्यसमै सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी पनि लिएकी थिइन् ।

चुनावको मिति नजिकिएसँगै प्रधानमन्त्री कार्कीले अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले बताए ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले भारतीय सीमासँग जोडिएको लुम्बिनी प्रदेशको ५ सय १४ किलोमिटर क्षेत्रबाट हुन सक्ने जोखिमसहित त्यसलाई रोक्नसक्ने रणनीति तयार गरेर अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताए ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाको खुला सीमा क्षेत्र मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग-अलग सुरक्षा चुनौती भएको जानकारी गराइएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत अवस्था जानकारी गराएका थिए ।

प्रमुख सचिव काप्रीका अनुसार तीन तहको सुरक्षा रणनीति बनाएर निर्वाचनलाई सफल बनाउन अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर जाने निर्णय भएको छ ।

बैठकमा सहभागी तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले प्रमुख साझा चुनौती ५ सय १४ किलोमिटर खुला सीमालाई ध्यानमा राखेर भारतीय अधिकारीसँग समन्वय भइरहेको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए ।

बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, सेनाकाे मध्यपश्चिम पृतनापति हिम्मतबहादुर विष्ट, प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीसहितका सुरक्षा अधिकारीहरुले आफ्नो क्षेत्रको अवस्था जानकारी गराएका थिए ।

गण्डकीबाट शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्की बिहान सुरक्षा अधिकारीको बैठक सकाएर लुम्बिनीको मायादेवी दर्शन गरी काठमाडौं फर्किएकी छन्। 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully