धार्मिक सहिष्णुता तथा सद्भाव कायम राख्न गृहको अपिल

शनिबार मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले समसामयिक सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेको थियो ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Home Ministry appeals to maintain religious tolerance and harmony

काठमाडौँ — गृह मन्त्रालयले सबै धर्म र समुदायबीच सहिष्णुता, सद्भाव र पारस्परिक सम्मान कायम राख्न अपिल गरेको छ ।

शनिबार मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले समसामयिक सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेको थियो । बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकले रौतहट, दाङलगायत तराई एवं मधेशको केही जिल्लामा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पुऱ्याउने, धार्मिक एवम् सामाजिक सद्भाव खल्बलाउने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने, राजनीतिक दलका झण्डा जलाउने लगायत कानुनले निषेध गरेका क्रियाकलाप गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउने जस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयकी सहप्रवक्ता उपसचिव रमा आचार्य सुवेदीद्वारा जारी विज्ञप्तिमा विभिन्न धर्म, जातजाति, वर्ग वा समुदायबीच द्वेष फैलाउने तथा हिंसात्मक गतिविधि दुरुत्साहित गर्ने कार्य कानुनअनुसार दण्डनीय रहेको उल्लेख छ ।

मन्त्रालयले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी राखी दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही भइरहेको जनाएको छ । 

कान्तिपुर

Link copied successfully