तौलिहवा–गोरुसिंगे सडक खण्ड अन्तर्गत मोतीनगर गाउँको पूर्व वाणगंगा नदी छेउमा रहेको कुकुरको सिनो खाँदा गिद्ध मरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष जयप्रकाश पाण्डेले बताए ।
What you should know
लुम्बिनी — विषाक्त सिनो खाँदा बुद्धभूमि नगरपालिका–१० मोतीनगरमा ९ वटा गिद्ध मरेका छन् । विश्वमै दुर्लभ ४ वटा डंगर गिद्ध र संकटको नजिक रहेका ५ वटा हिमाली गिद्ध मरेका हुन् ।
तौलिहवा–गोरुसिंगे सडक खण्ड अन्तर्गत मोतीनगर गाउँको पूर्व वाणगंगा नदीको छेउमा रहेको मृत कुकुरको सिनो खाँदा गिद्ध मरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष जयप्रकाश पाण्डेले बताए ।
गिद्ध मरेर दुर्गन्ध फैलिएको सूचना स्थानीयले दिएपछि वनका हेरालु पठाएर खाल्टो खनेर गाड्न लगाएको उनले बताए । बुधबार सूचना पाएपछि बिहीबार मरेका गिद्ध गाडेको उनले बताए । ३ वटा गिद्ध घाइते अवस्थामा रुखमा बसेका छन् । विष राखेर मारेको कुकुर फालिएपछि घटना भएको पाइएको अध्यक्ष पाण्डेले बताए ।
प्रकृतिको कुचीकार मानिने गिद्ध मारिँदा चिन्ता थपिएको गिद्ध विशेषज्ञ कृष्णप्रसाद भुसालले बताए । पछिल्लो समय संरक्षण र जनचेतनाको प्रभावका कारण मुलुकभर गिद्धको संख्या विस्तारै बढ्दै गए पनि यस्ता घटनाले दुःखी बनाएको उनले बताए । ‘अझ डंगर गिद्ध त विश्वकै दुर्लभ हो । यस्ता घटनाका दोषीलाई कानुनको दायरामा ल्याउनु पर्छ । नभए फेरि यस्ता घटना दोहरिन सक्छन्,’ उनले भने ।
हिमाली गिद्ध भने संकटको नजिक रहेको पन्छी हो । हिमाली गिद्ध जाडो छल्न तराई तिर आएका हुन् । अब उनीहरु फर्कने बेला हुन थालेको छ । डंगर गिद्ध भने रैथाने हुन् । नेपालमा डंगर गिद्धको संख्या करिब दुई हजार र हिमाली गिद्धको संख्या १० हजार रहेको अनुमान गरिएको छ ।
चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा भद्दा जिउडाल रहे पनि गिद्ध वातावरणीय सरसफाईकालागि ठूलै भूमिका भएको पन्क्षी हो । जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता घटना हुन नदिन सचेतना गर्नुपर्ने पन्छी संरक्षण संघ (बिसिएन) का गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशीले बताए ।
मांसाहारी जीवले करिब ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन् । ‘तर, गिद्धले अधिकांश सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्न मद्दत गर्छ,’ उनले भने, ‘गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले विभिन्न हानिकारक कीटाणु भएको सडेगलेको मासु पनि सहजै पचाउँछ ।’
मनिसभन्दा आठ गुणा टाढासम्म देख्न सक्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ । सिनोको खोजीमा गिद्ध ३ सय किलोमिटर टाढासम्म उड्छ । गिद्धले ब्याक्टेरिया, भाईरस र रोगका कीटाणुयुक्त मरेका जनावरलाई खाएर स्वच्छ वातावरणकालागि सहयोग गर्छ ।
१६ देश सदस्य रहेको दक्षिण अफ्रिकन डेभलप्मेण्ट कन्ट्री (एसएडीसी)मा गिद्धहरुले दिने पारिस्थीतिकिय प्रणाली सन्तुलन राख्न दिने सेवाको मूल्य प्रति वर्ष १ अर्ब ८ करोड डलर बराबरको अुनमान रहेको उल्लेख गरेको छ । त्यही गरिएको एक अध्ययनले एउटा गिद्धले ११ हजार अमेरिकी डलर बराबर सिनो सरसफाईमा योगदान गर्ने गरको उल्लेख छ । त्यसैले गिद्धलाई विना लागतको प्राकृतिक सफाईकर्मी पनि भनिन्छ ।
नेपालमा २०११ देखि २०२३ सम्म देशभर भएका यस्ता विषाक्त घटनाले सात प्रजातिका २ सय २४ गिद्ध मृत अवस्थामा फेला परेको गिद्धमा विद्यावरिधी गर्दै गरेका कृष्णप्रसाद भुसालले बताए । उक्त अवधिमा देशका २२ ठाउँमा विषाक्त घटना भएका थिए । यीमध्ये सबैभन्दा धेरै हिमाली गिद्ध १ सय ८ वटा मरेका थिए । त्यसपछि डंगर गिद्ध ९३ वटा र अन्य चार प्रजातिका गिद्ध थोरै संख्यामा मरेका थिए ।
सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ) ले नेपाललाई ०७८ मंसिरमा गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र घोषणा गरेको छ । गिद्ध सुरक्षित क्षेत्र भनेर गिद्धको बासस्थानसहित त्यस आसपासको चरन र विचरण गर्ने क्षेत्रलाई मानिन्छ । ‘सेभ’ एसियाको खतरामा परेका गिद्धलाई बचाउन सहकार्य गर्ने २४ साझेदारहरूको ‘कन्सोर्टियम’ हो ।
