बर्खायाममा महाकाली नदी र चुरेबाट उत्पत्ति हुने खहरे खोलाले बस्ती कटान गरेपछि स्थानीयवासी वर्सेनि घरटहरा सार्दै सुरक्षित स्थानतर्फ सर्ने क्रम पनि चलिरहेकै छ ।
What you should know
कञ्चनपुर — पूर्वमा चुरे पहाड र पश्चिमतिर महाकाली नदी । चुरे फेदको घाडीघाँच क्षेत्रमा महाकाली किनारमा रहेको खल्लामा पछिल्ला वर्ष बाक्लै बस्ती बिस्तार भइसकेको छ ।
खल्ला आसपासमा चुरेबाट बग्ने खहरे खोला पनि थुप्रै छन् । बर्खायाममा महाकाली नदी र चुरेबाट उत्पत्ति हुने खहरे खोलाले बस्ती कटान गरेपछि स्थानीयवासी वर्सेनि घरटहरा सार्दै सुरक्षित स्थानतर्फ सर्ने क्रम पनि चलिरहेकै छ ।
उहिले भारतको टनकपुर छेउको ब्रह्मदेव सीमा बजार सुदूर पहाडी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र थियो । ब्रह्मदेवबाट खल्ला मुसेट्टी भएर चुरे छिचोल्दै सुदूरपश्चिमका पहाडी जिल्लामा लत्ताकपडादेखि नुनतेल र दैनिक उपभोग्यबस्तु पुग्थ्यो । सडक बिस्तार हुन थालेपछि यहाँको पुरानो पैदल मार्ग भएर पहाड–तराई आउजाउ सुनसान हुन थाल्यो । ४० को दशकयता वर्सेनि पहाडी जिल्लाबाट यहाँको सरकारी वनक्षेत्र अतिक्रमण गरेर ऐलानी जग्गा ओगट्ने क्रम सुरु भएसँगै खल्ला मुसेट्टीमा बस्ती बिस्तार हुन थालेको हो ।
दार्चुलाका ९२ वर्षीय हरिदत्त जोशी २०४० मा यहाँ पुगेका थिए । जोशी र अन्य केही व्यक्तिले यतै घरजम गरी खेतीपाती गर्ने सोच बनाए । त्यही बेलादेखि स–साना बुट्यान पन्छाएर खनजोत गरी सरकारी वनक्षेत्रको जग्गा ओगटेर ऐलानी जग्गा कमाउन थालेका हुन् । सुरुका दिनमा वन प्रशासनबाट उनीहरुलाई पक्राउ गर्ने, छाप्रा जलाएर जग्गा अतिक्रमण रोकथामका कारवाही नियमित भइरहन्थ्यो । उनीहरु वनकर्मीर्बाट पक्राउ पर्ने डरले जोगिन दिनभरी जंगलमा लुकेर बस्ने र राति छाप्रोमा बस्ने गर्दथे । कुनै दिन वनकर्मी आएर छाप्रोसँगै लुगाकफडा र रासन समेत जलाइदिन्थे ।
जोशीले यहाँ बस्ती बिस्तार हुने क्रममा वनक्षेत्र अतित्रमण गरेको कसूरमा पटक पटक गरेर ५ वर्षसम्म जेलमा समेत बिताए । त्यतिबेला जिल्ला वन प्रमुख फेरिने वितिक्कै पहिलो निसाना उनी नै बन्थे । बिस्तारै बसोबास बाक्लियो । वनकर्मीले पनि दुःख दिन छाडे ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा पर्ने उक्त क्षेत्रमा सुरुमा बसोबास गर्न निकै समस्या थियो । उब्जनी पनि खासै नहुने । सबैथोक महाकाली पारिको भारत उत्तराखण्डको टनकपुरबाट किनेर खानुपर्ने । टनकपुरसम्म पुग्न पैदल बाटो समेत सजिलो थिएन । विद्युत, टेलिफोन र खानेपानीको निकै समस्या थियो । हिँडरै ब्रम्हृदेव हुँदै टनकपुर पुगेर त्यहीबाट नुनतेल र पिठो, चामल ल्याएर गुजारा गरेको जोशी बताउँछन् ।
बस्ती बिस्तारसँगै यस क्षेत्रमा ऐलानी जमिन नापीको कुरा चलेको हो । पछिल्लो पटक त झन् निर्वाचनका बेला यहाँ पुग्ने हरेक उम्मेदवार र राजनीतिक दलहरुले जमिन नापी गरेर लालपुर्जा दिने प्रतिबद्धता दोहोर्याउँदै आएका छन् । तर अहिलेसम्म न जमिन नापी भयो, न यहाँका बासिन्दाले लालपुर्जाको माग नै छाडेका छन् । हरेक निर्वाचनका बखत उनीहरुको जग्गा नापी र लालपुर्जाको माग प्रमुख चुनावी मुद्दा बन्दै आएको छ ।
‘पूरै जिन्दगी ऐलानी जमिनमै बित्यो, यसकै लागि जेल पनि बसे, अब पनि लालपुर्जा पाइने आश पनि छैन,’ जोशीले भने, ‘मसँगै सुरुमा यहाँ बस्नेहरु कोही पनि छैनन्, दोस्रो पुस्ता पनि लालपुर्जाकै पर्खाइमा बुढो भइसकेको छ, तर अझै कहिले नापी हुने हो र लालपुर्जा पाइने हो ठेगान छैन ।’
उनको जमिन महाकाली किनारमै छ । महाकालीको बाढीले पनि कटान गरिरहेको छ । २०७० मा महाकालीको बाढीले कटान गरेर नदी किनार क्षेत्रका ९ परिवार विस्थापित भएका थिए । उनीहरुमध्ये केही यो ठाउँबाट अन्यत्र विस्थापित भइसकेका छन् भने केही परिवार सोही क्षेत्रमा सिद्धबाबाको मिन्दरको जमिनमा घर टहरा बनाएर बसोबास गरिरहेका छन् ।
‘लालपुर्जा दिन्छु भन्छन्, तर अहिलेसम्म जमिन नापी समेत भएको छैन,’ २०६० मा बझाङको मष्टाबाट बसाइँसरेर आएका ८२ वर्षीय डबल कठायतले भने, ‘चुनावका बेला सबै देखिन्छन् । भोट माग्न नानाथरी आश्वासन दिन्छन्, चुनाव सकिएपछि कोही फर्केर आउँदैनन् ।’
पछिल्लो पटक संविधानसभाको पहिलो निर्वाचनदेखि यो मुद्दा बढी चर्चामा आइरहेको छ। संविधान जारी भएपछि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका सबै निर्वाचनमा सबैले यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।
पछिल्लो पटक भूमि सम्बन्धी समस्या समाधान आयोगले निवेदन मागेपछि यहाँका स्थानीयले पनि आफुहरुले भोगचलन गरेको जग्गा नापीका लागि निवेदन दिएका छन् । निवेदन दिएकाहरुले जमिन नापीका लागि निस्सा पनि पाएका छन् । तर जमिन नापी कहिले हुने हो भन्ने कुनै ठेगान छैन । ‘नापी हुन्छ भन्छन्, तर कहिले हुने हो, केही थाहा छैन,’ भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी सोही क्षेत्रकी एकमात्र जनप्रतिनिधि स्थानीय अञ्जली बोहराले भनिन् ।
उनको परिवार २०४२ देखि यहाँ बसोवास गर्न थालेको हो । ब्रह्मदेव नजिक खल्लामा ऐलानी जग्गा पाउने हल्ला चलेपछि बुवाको परिवार बझाङबाट यहाँ आइपुगेको उनले बताइन् । ‘यही बिहे गरे, नदी किनारमा १ बिघा जग्गा थियो । ७० सालको भीषण बाढीले घरजग्गा सबै बगायो हाल मन्दिरको जग्गामा छाप्रो बनाएर बसेका छौं,’ बोहराले भनिन्, ‘९ परिवारको घरवास महाकालीको बाढीले उठीबास गरेको हो ।’
स्थानीय तहको पहिलो निर्वाचनपछि उक्त क्षेत्रमा नगरपालिकाकै पहलमा सडक र विद्युत सेवा सुरु भएको जोशी बताउँछन् । तर पछिल्लो पटक महाकाली करिडोर अन्तरगत ब्रम्हृदेव क्षेत्रमा ट्रयाक खोल्ने काम भइरहेको छ । जसका कारण ब्रम्हृदेवदेखि खल्लासम्मको बाटो अवरुद्ध भएको छ । ‘हिउँदमा त महाकालीको बगरै बगर हिँडिरहेका छौं, बर्खामा बाटो नखुलेपछि हामी त ठप्प हुन्छौं,’ जोशीले भने, ‘बर्खा अगावै सडक खुलाउन पर्ने हाम्रो माग छ ।’ अहिले सडक किनारमा रहेका विद्युत पोल पनि महाकालीको बगरमै गाडिएका छन् । महाकालीको वहाव बढेपछि पोल ढल्ने र विद्युत पनि अवरुद्ध हुने देखिन्छ ।
उक्त क्षेत्रमा खल्ला, टुँडीखेल र मसुेट्टी गरी तीन वटा बस्ती रहेका छन् । तीन वटै बस्तीमा ४ सय हाराहारी परिवारको बसोबास छ । अधिकांश सुदूरपश्चिमकै पहाडी जिल्लाहरुबाट बसाइँसरेर आएका छन् । ब्रम्हदेव मण्डीसमेत नजिकै रहेको उक्त क्षेत्र भीमदत्त पन्तको नुन काण्डले पनि चिनिन्छ ।
ब्रम्हदेवदेखि करिब ५ किलोमिटर उत्तरतर्फ खल्लाको बस्ती पर्दछ । त्यसभन्दा ३ किलोमिटर उत्तरतिर मुसेट्टी र बीचमा टुँडीखेल बस्ती छ । ब्रम्हृदेवबाट मुसेट्टीसम्म आधा दर्जन खहरे खोला छन् । बर्खायाममा खहरे खोलाका कारण आउजाउ नै बन्द हुने गरेको छ । जसका कारण उक्त क्षेत्रका विद्यार्थीको पढाई समेत अवरुद्ध हुन्छ ।
यहाँका बस्तीमा भीमदत्त, बैजनाथ र सरस्वती गरी तीन वटा आधारभूत विद्यालय छन् । सरस्वती र बैजनाथमा ५ कक्षासम्म पढाइ हुन्छ भने भीमदत्तमा ८ सम्म । ८ कक्षा पास भएपछि विद्यार्थीले पढाइका लागि ब्रम्हृदेव आउनुपर्ने बाध्यता हुन्छ । बर्खायाममा ब्रम्हृदेव आउने विद्यार्थीलाई निकै समस्या हुने गरेको छ ।
नगर कार्यपालिका सदस्य बोहराका अनुसार खल्ला मुसेट्टीका बस्तीमा करिब ५ सय तदाता रहेका छन् । ‘यहाँ १०/१५ प्रतिशत मात्रै मतदाता थिए, अधिकांशले २०७४ पछि मतदाता परिचय पत्र बनाएका हुन्,’ उनले भनिन्, ‘तर जति मतदाता थपिए पनि धेरैजसो रोजगारीका लागि भारत पसेका छन्, भारत गएर काम नगरे गुजारा चल्दैन ।’
यसपटकको निर्वाचनमा खासै रौनक नभएको स्थानीयको बुझाइ छ । ‘विगतका चुनावमा उम्मेदवार र तिनका कार्यकर्ता निकै तछाडमछाड गर्दै भोट माग्दै मतदाता भेट्न पुगिरहेका हुन्थे, खोइ यो वर्ष अहिलेसम्म सुनसान जस्तै छ,’ कार्यपालिका सदस्य बोहरा भन्छिन्, ‘फागुन २१ आउन लागि सक्यो अब चुनावी माहोल तात्छ कि ?’
