१० जना घाइतेलाई हेलिकोप्टरमा काठमाडौंमा ल्याइयो ।
काठमाडौँ — निर्वाचन सुरक्षाका क्रममा गस्तीमा रहेका नेपाली सेना सवार गाडी भोजपुरको ट्याम्केमैयुङमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
गस्तीका लागि सार्वजनिक बस रिजर्भमा लिएर निस्किएको सेना सवार गाडी भोजपुर नगरपालिका-४ टेम्केमैयुङ नजिकै सेती बगरमा खस्दा २२ जना सेना र गाडीका चालक र सहचालक दुई जना गरी २४ जना घाइते भएका हुन् ।
घाइतेमध्ये १० जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार काठमाडौं ल्याइएका सबैको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । घाइते ६ जनाको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीस्थित सैनिक अस्पताल र बाँकी घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाका अनुसार निर्वाचन सुरक्षाका लागि सेना सवार गाडी भोजपुरको टेम्केमैयुङस्थित मध्यपहाडी राजमार्गबाट करिब ५ सय मिटर तल सेती बगरमा खसेको थियो । रुखमा अड्किएको अवस्थामा गाडी भेटिएकामा त्यहीँबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको डीएसपी लामाले बताए ।
घाइतेहरुको अवस्थाबारे भने अस्पताल र सुरक्षा निकायले थप विवरण बाहिर निकालेका छैनन् ।
२१ फागुनको निर्वाचन लक्षित सुरक्षाका लागि सेनाले सवारी गस्ती खटाएकामा सोही गाडी दुर्घटनामा परेको हो ।
