जसले धेरै खर्च गर्छ, उसैले चुनाव जित्ने र सत्तामा पुग्ने प्रवृत्ति बढेको छ : पूर्वप्रमुख आयुक्त पोखरेल

उनले बैंक खातामार्फत हुने कारोबारलाई च्यानलमा ल्याउने प्रयास गरिए पनि पकेटबाट हुने खर्च र कालो धनको प्रयोगले बेथिति निम्त्याएको बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

The trend of those who spend the most winning elections and coming to power has increased: Former Chief Commissioner Pokharel

What you should know

काठमाडौँ — निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको पारदर्शिता कायम गर्न गरिएका प्रयासहरू पर्याप्त नरहेको बताएका छन् । उनले वर्तमान निर्वाचन प्रणाली, बढ्दो खर्च र सुधारका आवश्यकताहरूका बारेमा विश्लेषण गर्दै ‘झ्याल’बाट हुने खर्चले प्रणालीलाई नै चुनौती दिइरहेको टिप्पणी गरे । उनले निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना कडाइका साथ गरिनुपर्ने बताउँदै दुई व्यक्ति, दल र उम्मेदवारबीचको भित्री साठगाँठबाट हुने कारोबारलाई खोतलेर बाहिर ल्याउनु राष्ट्रिय क्षमताका लागि एउटा ठूलो चुनौती बनेको बताए ।

निर्वाचन आयोगले आर्थिक पारदर्शिताका लागि उम्मेदवारले सम्पत्ति विवरण दिनुपर्ने, स्वघोषणा गर्नुपर्ने र बैंक खातामार्फत खर्च गर्नुपर्ने प्रावधानहरू बनाएको छ । तर पूर्वप्रमुख आयुक्त पोखरेलले ‘ढोकाबाट भन्दा झ्यालबाट हुने खर्च’ नियन्त्रण गर्न कठिन भइरहेको बताए । उनले बैंक खातामार्फत हुने कारोबारलाई च्यानलमा ल्याउने प्रयास गरिए पनि पकेटबाट हुने खर्च र कालो धनको प्रयोगले बेथिति निम्त्याएको बताए । पूर्वप्रमुख आयुक्त पोखरेलले अहिलेको निर्वाचनमा जसले धेरै खर्च गर्छ, उसैले जित्ने र सत्तामा पुग्ने प्रवृत्ति बढेको बताउँदै निर्वाचन आयोगले तोकेको खर्च सीमा ३३ लाखको उल्लंघन भइरहेको बताए । उनले उम्मेदवारहरूले तोकेको सीमाभन्दा कयौँ गुणा बढी खर्च गरिरहेको बताउँदै भने, ‘खर्च गर्नसक्ने र नसक्नेहरूबीचको खाडलले प्रतिस्पर्धालाई असमान बनाएको छ । यसलाई सुधार गर्न राज्यद्वारा निर्वाचन खर्च व्यहोर्ने मोडेलमा जानुपर्छ ।’ उनले विश्वका १ सय ३० भन्दा बढी देशहरूले यस्तो अभ्यास गरिरहेको दृष्टान्त दिँदै नेपालले पनि समान प्रतिस्पर्धाका लागि यो बाटो रोज्नुपर्ने बताए ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पोखरेलले विगतमा हिंसा र परम्परागत मिडिया (रेडियो, टिभी) प्रमुख चुनौती रहेकोमा अहिले त्यसको स्वरूप फेरिएको बताए । उनले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सले निर्वाचनको निष्पक्षतामा नयाँ चुनौती थपेको बताउँदै भने, ‘यदि राष्ट्रिय क्षमता बढाइएन भने निर्वाचनको परिणाम मतदाताले भन्दा मिडियाको भ्रम र गलत सूचनाले निर्धारण गर्ने खतरा छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully