विकल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण झिकाउन विशेषको आदेश 

विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाण कागजात झिकाउने आदेश गरेको हो ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Special court orders evidence collection in corruption case against Bikal Poudel

काठमाडौं — विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर भ्रष्टाचार मुद्दामा प्रमाण कागज झिकाउने आदेश गरेको छ ।

मंगलबार विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाण कागजात झिकाउने आदेश गरेको हो । 

अख्तियारले पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबर गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले पौडेलकी पत्नी एलिना बस्नेतले रकम लुकाउन मतियारको भूमिका खेलेको आरोप लगाउँदै उनलाई पनि अभियोगपत्रमा प्रतिवादी बनाएको थियो ।

पौडेलले नेपालबाहेक सिंगापुरको युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकाको खातामा रकम जम्मा गरेको दाबी समेत अभियोगपत्रमा गरिएकाले त्यसको प्रमाण पेश गर्न विशेषले आदेश गरेको हो ।  अख्तियारले पौडेलसहित उनकी पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल र आमा शितल पौडेललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इन्जिनियरको रूपमा समेत कार्यरत थिए । उनीविरुद्ध अन्य मुद्दा पनि विशेषमा विचाराधीन छन् ।

कान्तिपुर

Link copied successfully