विसं २०७७ मा १२ वटा मात्र औषधि उत्पादन गर्ने गरिएकामा हाल यहाँबाट ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् । तीमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गरेका छन् ।
What you should know
काठमाडौं — सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कम गर्दै आएको वैद्यखाना पछिल्लो समम फेरि लय समातेको छ ।
तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए ।
'केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान दिएर लागेका छौँ । उत्पादन वृद्धिसँगै कारोबारमा बढाइरहेका छौँ' उनले भने, 'हाल सरकारी औषधालयमा मात्र दुई करोड बराबरको औषधि माग आएको छ ।'
कुनै वेला आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको कार्यकारी निर्देशक केसीले जानकारी दिए । समयमा कच्चापदार्थको आपूर्ति नहुँदा औषधि उत्पादन ठप्प भइरहेकामा पछिल्लो समय आन्तरिक समस्या समाधान गरेर उत्पादन वृद्धि गर्न लागेको उनले बताए ।
८६ प्रकारका औषधि उत्पादन गर्दै
विसं २०७७ मा १२ वटा मात्र औषधि उत्पादन गर्ने गरिएकामा हाल यहाँबाट ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् । तीमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गरेका छन् । 'हामीले कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा ठेक्का सम्झौता गरेका थियौं । तर, ठेकेदारले कच्चापदार्थ नल्याएपछि कालोसूचीमा राख्यौं । विसं २०८१ वैशाख नयाँ ठेक्का सम्झौता गरेर सोही वर्षको साउनयता औषधि उत्पादन भइरहेको छ,' कार्यकारी निर्देशक केसीले भने ।
वैद्यखाना निरन्तर घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलबसमेत नपाउने अवस्था आएको थियो । हाल नियमित औषधि उत्पादन भएर नाफामा गएपछि कर्मचारीले नियमित तलब पाइरहेका छन् ।
माग धान्नै गाह्रो
वैद्यखानाको औषधिलाई सबैले रुचाएका कारणले हाल माग बढिरहेको र हाल करिब चार करोड बराबरको औषधिको माग रहेको केसीले बताए । 'देशभरिबाट नै औषधिको माग बढिरहेको छ, तर हामीले मागअनुसार उत्पादन गर्न सकेका छैनौं । त्यसैले हाल सरकारीबाहेक अन्यलाई औषधि दिन सकिएको छैन,' उनले भने ।
कार्यकारी निर्देशक केसीले यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । शिलाजित, च्यवनप्रास, निमिया (जोर्नी दुख्ने औषधि), चन्द्र प्रभावटी, महायोगराज, कान्चानार, त्रिफलालगायत औषधिको माग उच्च रहेको वैद्यखानाले जनाएको छ । हाल १५ वर्षदेखि रोकिएको स्वर्णभ्रष्म विन्दु फेरि उत्पादन सुरु गरिएको छ ।
